बाँके कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी

बाँके । नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी  कैदी बन्दी रहेका छन् । 

क्षमताभन्दा बढी राखिएपछि उनीहरूको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । 

विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदी बन्दी रहेका छन् । कैदी बन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले  बताउनुभयो । 

बस्तीको मध्य भागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । “कैदी बन्दीलाई विभिन्न रोगको जोखिम छ”, उहाँले भन्नुभयो । उनीहरूलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् । 

कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित  छ । कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । 

फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।   रासस

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ५१ बजे