प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आव २०७६÷०७७ का लागि उपमहानगरपालिकाको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा मिलेमतो गरेको पाइएको छ ।
 
प्रशासकीय अधिकृतले गैरकानूनी तवरले खोलाजन्य सामग्री उत्खनन गर्नेसँग मिलेमतो गरेको पाइएको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध रु एक करोड ३८ लाख ९९ हजार ९९८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ०४ बजे