धरानस्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुँने बाँस नष्ट हुने अवस्थामा पुगेकाले संरक्षण कार्य थालिएको छ। मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिणतर्फ बाँसका चार वटा ठूला झ्याङहरू छन्। बुढासुब्बाको किम्बदन्तीसँगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिन्छ।
दशक यता बाँसमा नयाँ तामा नपलाएकाले झ्याङको बीच भाग खाली हुँदै आएको छ। झ्याङको वरिपरी सिमेन्टको पर्खाल लगाइएको थियो। सोही अवस्थामा रहे बाँस विस्तारै नष्ट हुने सरोकारवालाहरूले चिन्ता गर्न थालेका थिए। यसबारे गतवर्ष पुजारी उत्तम आले मगरले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउनु भएको थियो।
उहाँका अनुसार वनस्पति विज्ञले अध्ययन गरी सिमेन्टको टेवा घेराले बाँसलाई अवरोध गरेको प्रतिवेदन दिएपछि उपमहानगरपालिकाले संरक्षण कार्य थालेको हो। अहिले सिमेन्टको टेवा पर्खालसहित बनाइएको श्रद्धालु बस्ने ठाउँ हटाइएको छ। बाँसको लागि १० फिट ठाउँ छाडेर सिमेन्ट बिना ढुंगाको टेवा उठाउने कार्य धमाधम भैरहेको छ।
संरक्षण कार्यका लागि चालु आर्थिक वर्षको बजेटबाट कुल १० लाख रुपैयाँको लागत अनुमान गरिएकोमा उपमहानगरपालिकाले ९ लाख बाँकी उपभोक्ता समितिले व्यहोर्नुपर्ने छ। अहिले संरक्षण कार्य भइरहेको बाहेक दक्षिणतर्फ ठूलो झ्याङको अवस्था पनि त्यस्तै छ। सामाजिक अभियन्ता प्रेम पराजुलीले भन्नुहुन्छ ‘नगरपालिकाले आउँदो बजेटमा त्यसको लागि बजेट छुट्याउन जरुरी छ।’
यसअघि बुढासुब्बाको बाँस नष्ट हुन लागेको समाचार मिडियामा आएपछि तत्कालीन नगर प्रमुख तिलक राईले दुई पटक स्थलगत अवलोकन गर्नु भएको थियो। पछिल्लो पटक केन्द्रीय प्रविधि क्याम्पसका बनस्पति शास्त्रका प्राध्यापक सञ्जु पराजुलीसहितको टोलीलाई बाँसको अवस्था अध्ययन गरी संरक्षणका उपाय बारे लिखित प्रतिवेदन पेश गर्न लगाइएको थियो।
वनस्पति शास्त्रकी प्राध्यापक पराजुलीका अनुसार बाँसको झ्याङलाई घेराव गरी सिमेन्टको पर्खाल लगाएकाले बाँस प्रभावित भएको हो। बाँसको वंश वृद्धिका लागि सूर्यको प्रकाश र पानी आवश्यक हुन्छ। बुढासुब्बाको बाँसका झ्याङहरू बढेर प्रकाशको अभाव भएका बीचका भागमा बाँसको टुसा पलाउन नसकेको हो। सिमेन्टको संरचनाले पानी सोसेर राख्ने प्रकृया पनि अवरुद्ध भएको उहाँको भनाइ छ।
बाँसको प्राकृतिक विकास झ्याङ बढ्दै गएपछि सूर्यको प्रकाश जतातिर बढी हुन्छ त्यतैतिर नयाँ झ्याङ बढ्दै जाने स्वभाव हुने बताउँदै पराजुलीले भन्नुभयो– ‘यँहा बाँस झ्याङलाई घेराव गरी सिमेन्टको पर्खाल लगाएकोले प्राकृतिक रूपमा बाँस अघि बढ्न पाएको देखिएन्।’ यस्तै अवस्था रहेमा नयाँ बाँस पलाउने प्रकृया अवरुद्ध हुनसक्छ।
पुजारी आलेका अनुसार गएको ७–८ वर्ष यता बुढासुब्बाको बाँसका झ्याङहरू बीचमा नयाँ तामा नलागी खाली हुँदै गएको देखिन थालेको हो। हरियो बाँसका बोटहरूमा खोपेर श्रद्धालु युवा युवतीले प्रेमको चिनो स्वरूप नाम लेख्ने प्रचलन बढेको थियो। त्यसले बाँसको वृद्धिमा असर पुर्याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाइएको थियो। त्यसै अवधिमा सिमेन्टको दुई देखि तीन फिटसम्मको टेवा उठाएर बाँसलाई तारजाली समेत लगाइएको हो।
बुढासुब्बा बाँस विजयपुरको इतिहाससँगै जोडिएको पाइन्छ। त्यस आधारमा यहाँको बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिएको हो। पृथ्वी नारायण शाहको एकीकरण अभियान वि.सं. १८३० तत्कालीन चैनपुर हुँदै विजयपुर तिर आएको अनुसन्धानकर्ता अर्जुनबाबु माबुहाङले उल्लेख गर्नुभएको छ। लिम्बुवानका अर्का अनुसन्धानकर्ता डा.कमल तिगेलाका अनुसार त्यसअघि सेनहरूले विजयपुरमा शासन गरेका थिए।
पुजारी आलेका अनुसार उहाँका पुर्खाहरूलाई पूजाआजाको लागि प्रदान गरिएको निशान नेपाल एकीकरण भन्दा अघिको अघिको हो। पुरातŒव विभागबाट आएका विज्ञहरूले यस्को पुष्टि गरेका उहाँको भनाइ छ। त्यस बेलाका तरवारलगायतका हातहतियारहरू पनि छन् तर निशानमा संवत् भने छैन्। डा तिगेला भन्नुहुन्छ ‘उक्त निशान सेनकालमा सेनवंशी राजाले दिएको हुनसक्छ।’
बुढासुब्बाको बाँसमा टुप्पो नहुनुको कारण किम्बदन्ती पनि छ। प्रागऐतिहासीक कालमा लिम्बु दाजु बहिनी शिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भए। उनै शिकारीको धनुषवाण पलाएकोले बाँसको र टुप्पो नभएको हो। बुढासुब्बामा दाजुको मुख्य र बहिनीको सुब्बेनी मन्दिर छ।
बुढासुब्बाको टुप्पो विनाको बाँसको प्रजातिका बारेमा आधिकारिक अनुसन्धान भएको पाइन्न। पहाडी क्षेत्रमा पाइने भालुबाँस प्रकृतिको उक्त बाँस भालुबाँस भने नभएको नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीले बताउनुभयो। भालुबाँसमा सुके पनि कडापन यथावत रहन्छ। बुढासुब्बाको सुकेको बाँस भने फोस्रो भएको पाइएको छ। पराजुलीले भन्नुभयो ‘यो बाँस कतै नपाइने लोप हुन लागेको बाँसको प्रजाति पनि हुनसक्छ।’
प्रकाशित मिति : १० असार २०७९, शुक्रबार २ : ४३ बजे
प्रतिक्रिया