डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

बुटवल । रहस्यमय ढङ्गले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रवार दाहसंस्कार गरिएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरकी अमृताको शुक्रवार माइती पक्षले दाहसंस्कार गरेको हो ।

प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरूप अमृताको शुक्रवार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिनुभयो ।

विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्ने गरी अक्षयकोष बनाउने र छोराको शिक्षा दीक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैङ्कमा राखिदिने सहमति भएको छ ।

गएको चैत ३० गते राति अमृताको शङ्कास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाइ नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।

पाँच सय मिटरको दूरीमा रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि माइती पक्षले भने उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए ।उनीहरूले अमृताको मृत्युमा श्रीमान् प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।

अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रुपन्देहीले श्रीमान् प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको थियो । तर माइती पक्षले घटनाको सत्य तथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए । 

यसअघि पोष्टमर्टमका लागि पनि रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मात्रै माइती पक्ष सहमत भएका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : २१ बजे