विकासको आधा बजेट एउटै योजनामा खर्चँदै गण्डकी गाउँपालिका

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले सबै वडामा विनियोजन हुने रकमको कम्तिमा ५० प्रतिशत बजेट एउटै योजनामा हाल्ने नीति ल्याउने भएको छ । 

‘एक वडा, एक गौरव योजना’ भन्ने नाराका साथ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट बाँडफाँट गर्दा सबै वडामा विनियोजित बजेटको कम्तिमा ५० प्रतिशत रकम एउटै योजनामा हाल्ने नीति ल्याउन लागेको हो । 

‘यस बिषयमा गाउँ कार्यपालिकामा छलफल गरेर सहमति जुटिसकेको छ । भोलि नै हामी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछौँ’, गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले भन्नभयो । 

विगत हप्ता दिनदेखि गाउँपालिकाका नवनिर्वाचित टिम नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजना तर्जुमाका लागि छलफल गरिरहनुभएको छ । यस गाउँपालिकामा ८ वटा वडा छन् । गाउँपालिकाले आगामी आवका लागि प्रत्यक वडाका लागि एक करोड रुपैँया विनियोजन गर्ने तयारी गरेको छ । जसमध्य कम्तिमा ५० लाख एउटै योजनामा हाल्ने नीति यस पालिकाको छ । 

गौरवका योजनामा अहिले तत्काल सडक र खानेपानी जस्ता पूर्वाधारको कामलाई प्राथमिकता दिने उहाँ बताउनुहुन्छ ।  ‘विगतमा टुक्रे बजेट हाल्ने, नयाँ र कच्ची सडक खन्ने, तर बर्खा लागेपछि हिँड्न पनि नसकिने खालको सडक हुने । तर, अब हामीले सडक पुर्वाधार र स्वच्छ खानेपानीलाई प्राथमिकतामा राखेर टुक्रे बजेटलाई निरुत्साहित गर्दै दीर्घकालीन योजनाहरू अघि बढाएर कम्तिमा पाँच वर्षमा देखिने र जनताले महसुस गर्न सक्ने गरि काम गर्नेछौँ’, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

अन्य नीति तथा कार्यक्रम पालिका भरका जनताको चाहाना र मनोभावना र आवश्यकताका आधारमा ल्याईने उहाँले बताउनुभयो । ‘सबै वडाको समग्रमा विकास भएमात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुवाती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ’, उहाँले भन्नुभयो । 
 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १२ : ०१ बजे