डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई सर्त 

काठमाडौं । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किनुभएका अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरूलाई सहज तरिकाले फिर्ता हुन  गर्नुभएको निर्देशनप्रति  मुख्यतः पर्यटन मन्त्री प्रेम बहादुर आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गर्नुभएको हो। 

कोटेश्वरस्थित नेपाल निवासमा पुग्नुभएका सबै मन्त्रीलाई अध्यक्ष नेपालले “पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईँहरूले सहयोग गर्नुहोस्”, भन्ने प्रस्ताव गर्नुभए लगत्तै सहरी विकास मन्त्री झाँक्रीले आपत्ति जनाउनुभएको थियो। 

“हामीलाई किन हटाउनु पर्‍यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर व्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भइरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन्”, अध्यक्ष नेपाल समक्ष मन्त्री झाँक्रीले आक्रोशित हुँदै भन्नुभयो,“‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनुहुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।”

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो । 

कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाँक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताउनुभयो। 

उता, दुई जना सांसदसहित जानुभएका पर्यटन मन्त्री आलेले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने सर्त राख्नुभएको थियो । “एक जना महिला पनि सिफारिस भएका छैनन्, भूगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?”, मन्त्री आलेले भन्नुभएको थियो ।  आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उहाँले प्रस्ताव गर्नुभएको थियो ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरूलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरूको प्रस्ताव अस्वीकार गर्नुभएको थियो  

स्वास्थ्य मन्त्री खतिवडा  र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत हुनुभएको थियो । “मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुई वटा विषय लागू गरिदिनुहोस्,– पहिलो राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म  कुर्नुहोस्, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस्”, मन्त्री द्वयले प्रस्ताव गर्नुभएको थियो । 

कोटेश्वरमा उपस्थित मन्त्रीहरूले मुख्यतः दुई वटा सर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने जनाउनुभएको छ । “तपाईँहरूको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाईँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस्” बैठकमा अध्यक्ष नेपालले भन्नुभएको थियो। 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुई वटा सर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि शुक्रबार साँझ कोटेश्वरको माहौल नरम हुन पुगेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १२ : ०१ बजे