तीन प्रदेशमा वर्षाको सम्भावना

‘काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारबाहीको सिफारिस गरिन्छ’  

नवलपरासी । जिल्ला समन्वय समिति (जिसस) नवलपरासीका प्रमुख भगौती यादव (रुदल)ले काम नगरी योजनाको रकम फ्रिज गराउने प्राविधिक कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिने बताउनुभएको छ । 

लुम्बिनी प्रदेश सरकार अन्तरको सिँचाई डिभिजन कार्यालयका डिभिजन प्रमुखलाई लक्षित गरी उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश सरकारले परासी बजार डुबान रोक्न रु.१ करोड रकम विनियोजन गरिएको भए पनि काम गर्नमा विभिन्न बहानाबाजी गर्दै कामप्रति सकारात्मक नदेखिने कुशल गौतम र उहाँको प्राविधिक टिमलाई समन्वय प्रमुख यादवले सो चेतावनी दिनुभएको हो । 

गत वर्ष बिच खोलाबाट नै बाँध लगाउँदा खोलामा आएको बाढीको पानी खोलाले धान्न नसकेर बाँध भत्केको थियो । सो पानी परासी बजारलाई डुबान गरेको थियो । 

डुबानको अवलोकन प्रदेश सरकारका मुख्यमन्त्रीलगायत मन्त्रीहरूबाट समेत अवलोकन भएको थियो । 

नियन्त्रणका लागि बजेट समेत विनियोजन गरिए पनि आर्थिक वर्षको पहिलो साता बितिसक्यो । डिभिजनले बाँध बनाउन चासो देखाएको छैन । 

उहाँहरूले काम गर्ने उपभोक्ता समिति र ठेकेदारले कार्यादेश माग्दा काम भ्याउन सक्नुहुन्छ भन्दै हतोत्साहित बनाउने गर्नुभएको छ । उता स्थानीय प्रशासन र जनप्रतिनिधिसँग कुरा गर्दा हामी लागेका छौँ भन्दै आएका छन् । जिसस यादवले  महिना दिनदेखि यस्तो भइरहेको बताउनुभयो । उहाँले यदि काम भएन भने त्यसको जिम्मेवारी डिभिजन प्रमुखले लिनुपर्ने बताउनुभयो । 

बुधवार खोलाको स्थलगत अध्ययन गर्न समन्वय प्रमुख यादव र प्रदेश सांसद बैजनाथ जैसवाल समेत पुग्नुभएको थियो । 

स्थानीयवासी र सबैले बाँध बनाउने स्थान देखाउँदा डिभिजन प्रमुखले त्यो हुन सक्दैन भन्दै हिँडेपछि जिसस प्रमुख यादवले यदि काम भएन भन्ने उहाँलाई विभागीय कारवाहीका लागि समन्वय समितिले सिफारिस गरिने बताउनुभयो ।  

उहाँले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारका अन्य अधिकारीहरूसँग कुरा राखिएको जनाउँदै डिभिजन प्रमुखको दुई खालको भूमिका देखिएको छ, स्थानीय स्तरमा हुन नसक्ने भन्ने, उपभोक्ता समिति र काम गर्ने व्यवसायीसँग थोरै समयमा काम हुँदैन, भुक्तानी गर्न गाह्रो हुन्छ भन्ने तर जनप्रतिनिधि र स्थानीय प्रशासनसँग मुख मिलाउन आफूहरू प्रयासरत रहेको बताउने गरेको देखिएको बताउनुभयो । 

“कुनै पनि हालतमा डिभिजनले काम गर्नुपर्छ”, उहाँले थप्नुभयो, “होइन भने कारबाहीको भागिदार हुनुपर्छ । यो बेला नगरपालिकाले बाँध बनाउनका लागि माटो दिन तयार छ, स्थानीय प्रशासन पनि सहयोग गर्न तयार छ ।” तर त्यसमा डिभिजन प्रमुखले चासो लिएर काम गर्नुभन्दा आलटाल गर्ने र समय कटाउने दाउमा छन् । 

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ११ : ३१ बजे