राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । 

सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले आविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

उहाँले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्न सके व्यापार घाटा कम हुने बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेश स्तर र पालिका स्तरमा खोल्नुपर्ने उहाँको भनाइ थियो । गैर आवासीय नेपाली सङ्घले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान् व्यक्ति उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।

एनआरएनएका अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था उपयुक्त भएको बताउनुभयो । एनआरएनएले  पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । 

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : १२ बजे