राज्यमन्त्री वलीको घटनाको छानबिन गर्न बल्ल दाङ पुग्यो समिति

 दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनाको छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

उक्त घटनाको व्यापक विरोध भएसँगै प्रदेश सरकारले यस घटनाको छानबिन गर्न समिति बनाएको थियो । घटनाको लामो समयसम्म पनि अनुसन्धान नभएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो । सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् । घटनाको सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश रहे पनि छानबिनसमिति  घटना घटेकाे १० दिन पछि बल्ल दाङ पुगेको हो ।

राज्यमन्त्री वलीविरुद्ध एकराजकी श्रीमती मिना बस्नेतले आफूमाथि   हातपात गरेको भन्दै प्रहरीमा यस अघि नै जाहेरी  दिनुभएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ०७ बजे