सरकारी छाप र दस्तखत किर्तेमा दोषी ठहर भएपछि प्रदेश सांसद खातुन पदमुक्त

काठमाडौँ । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेशसभा सांसद गुलेफुन खातुनको पद गुमेको छ । 

मोहीको जग्गा नामसारीका लागि सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि एमालेबाट निर्वाचित प्रदेशसभा सांसद खातुनको पद गुमेको हो ।

जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उहाँ दोषी ठहरिनुभएको हो ।

खातुनले मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि खातुनले सर्वोच्च जानुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्‍याउन अनुमति नहुने आदेश जेठ २५ गते गरेको थियो ।

खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखत समेत नक्कली बनाइ जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकाल्नुभएको थियो । एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उहाँ विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ५७ बजे