पपुलिस्ट राजनीति : खहरे भेल

बालेन्द्र शाह, हर्क साम्पाङ, गोपाल हमालहरूले स्वतन्त्र उम्मेदवार भई चुनाव जिते । यी तीनैले राजनीतिक दलको उछितो काढ्थे । यही मेसोमा अब दलको खेदो खन्ने चर्चित पत्रकार रबि लामिछाने पनि राजनीतिमा आउन खुट्टो उचाली सके । अन्य कुनै क्षेत्रमा चर्चामा आएका केही थान व्यक्तिहरू स्वतन्त्र रूपमा आगामी चुनावमा उम्मेदवारी दिने लाइनमा छन् । सामाजिक सञ्जालमा नेपालमा सबैभन्दा धेरै फलोअर्स हुने मध्यकाहरू चुनावी मैदानमा एक्लै लड्न तम्सिँदै छन् । कुनै ऐतिहासिक विरासतविना, कुनै सिद्धान्त र विचारविना जनप्रिय मुद्दाहरू उठाउँदै उनीहरू बेला मौकामा चर्चामा आउनेहरू नै चुनावमा लड्न तम्सिएका छन् । यो आलेख यस्तै पपुलिस्ट बाटोबाट राजनीतिमा प्रवेश गर्न खोज्ने प्रवृत्ति र यसको अर्थ राजनीति चरित्रमा केन्द्रित छ । 

के हो पपुलिज्म ? 
​​​​​​​सामन्तवादी युगमा मूलतः राजसंस्था वा कुनै पारिवारिक संस्थाले जनताका समस्या बुझ्न सक्छ र त्यही संस्थामार्फत समाधान हुन्छ भनिन्थ्यो । यसो हुँदा व्यक्तिभन्दा संस्था प्रधान मानिन्थ्यो । जस्तै: राजाको छोरा जस्तो भए पनि राजा हुन्थे । समाजवादी प्रणालीमा मूलतः श्रमजीवी वर्गको पार्टीले आधारभूत जनताका समस्यालाई गहिरिएर बुझ्न सक्छ र त्यही पार्टीको नेतृत्वको सरकारले मात्रै ती समस्याको समाधान गर्न सक्छ भनिन्थ्यो । यहाँ वर्गीय पार्टीगत संस्थालाई सर्वेसर्वा मानिन्थ्यो । उदारवादी व्यवस्थामा जनमतमा आधारित लोकतान्त्रिक दलले सामूहिक रूपले जनताको मूल भावनाको नेतृत्व गर्न सक्छ भनिन्छ । यहाँ लोकतान्त्रिक प्रकृतिको पार्टीगत संस्थाले नेतृत्व गर्थ्यो । पपुलिज्म संस्थारहित व्यक्तिगत नेतृत्व हो । कुनै एक क्षेत्रमा चर्चामा आएका व्यक्तिहरू राजनीतिक मूल नेतृत्वमा आउने चेष्टा हो । उनीहरूसँग पार्टीगत संस्था हुँदैन, भए पनि कमजोर हुन्छ । उनीहरू त्यस्तो संस्थाको पक्षमा पनि हुँदैनन् । उनीहरूलाई म एक्लैले जनताको खास प्रत्यक्ष प्रतिनिधित्व गर्छु भन्ने भान हुन्छ । मैले मात्रै जनताका चाहना बुझ्छु, समस्या गहिरिएर बुझ्न सक्छु, जनताको आकाङ्क्षाको जानकार छु, म एक्लैले ती सबै समस्या समाधान गर्न सक्छु भन्ने भान हुन्छ । उनीहरू बाहिरबाट हेर्दा प्रतिभाशाली देखिन्छन् । अहिले यसको सङ्केत विश्वव्यापी रूपमा देख्न सकिन्छ । भारतमा नरेन्द्र मोदी संस्थागत भन्दा पनि पपुलिस्ट कोणबाट चर्चामा आएका हुन् । 

अमेरिकामा डोनाल्ड ट्रम्प त्यसरी नै उदाएका थिए । रूसमा भलादिमिर पुटिन पपुलिस्ट झ्यालबाट छिरेर यो अवस्थामा आएका हुन् । रूसमा उनीविना लामो समय रुस चल्नै सक्दैन भनेर संविधान नै संशोधन गरेर असीमित कालसम्म सत्तामा रहने बाटो खुला गरिएको छ । चीनमा सिजिङपिङ पनि पपुलिस्ट बाटोमै छन् । उनी एक्लैले चीन लगायत विश्वकै विकासको नेतृत्व गर्न सक्छन् भन्ने प्रचार गरिएको छ । उनको आवश्यकता लामो समयसम्म पर्ने छ भनी चीनको संविधान संशोधन गरी उनले चाहना राख्दासम्म सत्तामा रहने मार्ग तयार गरिएको छ । भारतमा केजरीवाल, टर्कीका राष्ट्रपति इर्डोगान, हङ्गेरिका प्रधानमन्त्री ओर्वानहरू पनि पपुलिस्ट मार्गबाट आएका हुन् । 

यसो हेर्दा यिनीहरू जनतामा भिजेको, दूरदर्शी, सक्रिय, भ्रष्टाचार विरोधी जस्ता देखिन्छन् । सामाजिक सञ्जाल र मिडियाले उनीहरूलाई निकै उकास्छन् । यसो हुँदा जनताले यिनीहरूलाई छिटो पत्याउँछन् र भोट दिन्छन् । मोदी, पुटिन, ट्रम्प, सीहरू त कुनै पार्टी भित्रबाट उदाएका पपुलिस्ट नेता हुन् । तर, अब सूचना तथा सञ्चार प्रविधिको विकास र सामाजिक सञ्जालको प्रभाव बढेसँगै पार्टी बाहिरबाट व्यक्ति उदाउने छन् । भारत लगायतका देशमा सेलिब्रेटीहरू राजनीतिमा आउनु । नेपालमा स्वतन्त्र उम्मेदवारका नाममा भटाभट नाम घोषणा गरिनु यसका केही उदाहरण हुन् । मिडिया र सामाजिक सञ्जालको माध्यमबाट यिनीहरूलाई राजनीतिमा आउन उक्साउनु पपुलिस्ट राजनीतिको नमुना हो । तर, यिनीहरू टिकाउ हुँदैनन् । किन भने यिनीहरूसँग बलियो संस्था हुँदैन । कुनै राजनीतिक कथा हुँदैन । यिनीहरूका उत्तराधिकारी हुँदैनन् ।

यिनीहरूले जनतामा राजनीतिक संस्था वा राज्यप्रति आक्रोश सिर्जना गर्ने गरी मुद्दा उठान गर्छन् । इतिहासको विरोध गर्छन् । ब्युरोक्रेसीको खेदो खन्छन् । राजनीतिक दलको सत्तोसराप गर्छन् । यी सबैलाई भ्रष्ट्राचारी भन्छन् । विकास र प्रगतिका बाधक यी संस्थाहरू हुन् भन्छन् । केही सीमित घटनालाई लिएर सामान्यीकरण गर्छन् । जनताको संवेगसँग खेल्छन् । राजनीतिक नेताको विरोध गर्छन् । पार्टीका कार्यकर्ताको विरोध गर्छन् । राज्य व्यवस्थाको विरोध गर्छन् । संविधान, ऐन, नियमको विरोध गर्छन् । यसो हुँदा राज्यबाट प्रत्यक्ष लाभ  (अप्रत्यक्ष ख्याल गर्दैनन्)  नलिएका जनताहरूमा एक प्रकारको निराशा, आक्रोश र विद्रोहको बीउ हुर्कँदै गरेको हुन्छ । त्यसैको फाइदा लिन खोज्छन् । 

पपुलिस्टहरू सबै प्रकारका कथाको विरोध गर्छन् । मार्क्सवादको विरोध गर्छन्, समाजवादको विरोध गर्छन्, पुँजीवादको विरोध गर्छन्, उदारवादको विरोध गर्छन्, तानाशाही तन्त्रको पनि विरोध गर्छन् । तर, उनीहरूसँग कुनै राजनीतिक दर्शन हुँदैन । ऐतिहासिक लिगेसी हुँदैन । भविष्यको दृष्टि हुँदैन । सङ्गठनको तागत हुँदैन । कार्यकर्ताको बल हुँदैन । आर्थिक पुँजीको आड हुँदैन । सांस्कृतिक पुँजीको जग हुँदैन । तर, उनीहरूसँग तात्कालिक समस्या उठाउने तागत हुन्छ । जनतालाई आकर्षण गर्ने ल्याकत हुन्छ । सामाजिक सञ्जाल र मिडियामा छाउने रणनीति हुन्छ । हुलको आक्रोश समात्ने सामर्थ्य हुन्छ ।

समाजवादीहरूले मार्क्सवादलाई मागदर्शक सिद्धान्त मान्छन्, श्रमिक वर्गलाई क्रान्तिको आधार मान्छन्, पार्टी सङ्गठनलाई शक्ति ठान्छन् । राज्य नियन्त्रित अर्थतन्त्रमा जोड दिन्छन् । इतिहासदेखि भविष्यसम्मको एउटा खाका दिन्छन् । 

उदारवादीहरूले व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र, बजार अर्थतन्त्रमा जोड दिन्छन् । तर, पपुलिष्टहरूमा यस्ता कुनै राजनीतिक तथा आर्थिक मार्ग स्पष्ट हुँदैनन् । तर, यिनीहरूले सूचनाको शक्तिलाई प्रयोग गर्ने छन् । सूचनाको क्याल्कुलेसनका आधारमा आफ्ना पाइला चाल्ने गर्छन् । डाटालाई दुरुपयोग गरी अन्य पार्टी वा संस्थालाई खुइल्याउन उद्धत रहन्छन् । अरूको कमजोरीलाई यिनीहरूको तागतको रूपमा प्रयोग गर्न खोज्ने गर्छन् । यो उदारवादको परिणति पनि हो । उदारवाद र लोकतन्त्रलाई निरपेक्ष रूपमा बुझ्नुको नतिजा पनि हो । तर, हिजो आर्थिक तागत, कार्यकर्ताको तागत र जनसमर्थनको तागत नभएका कारण लुप्त थिए । अब यिनीहरूसँग डाटाको तागत हुन सक्छ । अन्य कथाहरू बिस्तारै कमजोर हुँदै जाने, जनताको तहमा वैचारिक आधिपत्य खस्कँदै जाने, पार्टीहरू बिस्तारै जनताबाट अलग्गिँदै जाने सम्भावना बढेकोले पपुलिस्टहरू तात्कालिक जनआकाङ्क्षालाई समातेर जुरुक्क उठ्ने गर्छन् । यिनीहरू अति राष्ट्रवादी देखिन्छन् । तर, यो दीर्घकालीन हुँदैन । यिनीहरूको उत्तराधिकारी योजना हुँदैन । त्यसो हुँदा कि त यिनीहरू तानाशाही बन्छन् कि त तुरुन्तै दुलाभित्र पस्छन् । यसले राजनीतिक अराजकता र अस्थिरता बढाउने छ ।

रवीन्द्र मिश्र पनि यस्तै मार्गबाट राजनीतिमा छिर्न खोजेका थिए । उनका दस्ताबेजमा विद्यमान संस्थाहरूको उछितो काढिएको थियो । पार्टीहरूलाई भ्रष्टको उपाधि दिइएको थियो । विचार होइन, राष्ट्र भनेर वैचारिक कथाप्रति कटाक्ष गरिएको थियो । वर्तमान व्यवस्था नै असफलताको दिशामा गएको भनी जनतालाई आक्रोशित बनाउन खोजिएको थियो । सङ्घीयता महँगो भएको भनी विरोध र हिन्दु राष्ट्रका बारेमा जनताको आवाज उठ्न थालेको देखेर जनप्रिय माग उठान गर्न खोजिएको थियो । अचम्मको कुरा त उनले यी सबै समस्याको जानकार आफू मात्रै रहेको र समाधानका लागि सक्षम र ईमान्दार रहेको भनी कसम समेत खाएका थिए । तर, उनी एउटै चुनावबाट बिदा भए । छिट्टै अस्ताए । उनी पत्रकारितामा सफल थिए तर राजनीतिमा भएनन् । त्यस्तै रबि लामिछाने जस्ता कुनै पेसामा सफल भएकाहरू राजनीतिमा सफल हुन्छन् भन्ने छैन । अझ पपुलिस्ट झ्यालबाट छिर्न खोजेकोले उनी जस्ताको राजनीतिक आयु पनि निकै कम समयको हुने पक्का छ । मिश्रजस्तै पपुलिस्टहरू छिटो उदाउँछन् र तुरुन्तै दुलाभित्र पस्छन् । 

प्रविधिको विकाससँगै सिर्जित बेरोजगारीको समस्या, ठुला डाटा सेन्टरको विकाससँगै नेपाल जस्ता देशको पुँजी पलायन, बौद्धिक आतङ्कवाद, जलवायु परिवर्तन, प्रविधिले निम्त्याएको मानव समाजको मौलिक विनाश जस्ता यो युगका मूल समस्यालाई राजनीतिक दलहरूले उठान गर्न छोडेर, पुरानै ढर्रामा जडसुत्रीय ढङ्गले अगाडि बढेमा पपुलिस्टहरू अझै सलबलाउने छन् । तर, पपुलिस्ट मार्ग वर्तमान राजनीतिको वैकल्पिक मार्ग होइन, खहरे मात्रै हो । पपुलिस्ट मार्गबाट नेपाली समाजको भलो कदापि हुँदैन । पपुलिस्ट मार्ग खहरे खोला जस्तै हो । उर्लिने, सोस्साउने तर तुरुन्तै सुक्ने । त्यसैले, दलहरूलाई नै बलियो बनाउने हो । किन कि दलसँग विचार हुन्छ, उत्तराधिकारी हुन्छ, संस्था हुन्छ, जबाफदेहिता हुन्छ । राम्रो गरे पुरस्कृत गर्न सकिन्छ, नराम्रो गरे दण्डित । तर, व्यक्तिसँग यी केही हुँदैन । जिते राज गर्छ, हारे भाग्छ । नराम्रो गरे अर्को पटक दण्डित गर्न पाइँदैन । दलगत व्यवस्थामा त एक नेताले गलत गरे जनताले पार्टीलाई दण्डित गर्न पाउँछन् । त्यसैले छमर्को हेरेर सिकार गर्न खोज्ने यस्ता पपुलिस्ट बिरालाहरूबाट सचेत हुन जरुरी छ । साथै पार्टीहरूमा संस्थागत विकास र रूपान्तरण भने अपरिहार्य छ । लोकतन्त्रमा पार्टीको विकल्प पार्टी नै हो कुनै अमुक व्यक्ति होइन ।     

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ०० बजे