तीन प्रदेशमा वर्षाको सम्भावना

मदन भण्डारी फाउण्डेसद्वारा आयोजित ‘योग विषयक परिचर्चा’ कार्यक्रम सम्पन्न

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले ‘८ औँ अन्ताराष्ट्रिय योग दिवसको सन्दर्भमा समायोजित योग विषयक परिचर्चा’ कार्यक्रम सम्पन्न गरेको छ । आज मदन भण्डारी मेमोरियल कलेज बानेश्वरमा ‘योग विषयक परिचर्चा’ कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारी,योग साधक आदर्श भट्टराई,हंसदा योग आश्रमका उद्धव प्रसाद भट्टराई,पाशुपत योगका स्वामी सुशील महात्मा,मदन भण्डारी कलेजका प्रधानाध्यापक डम्बर बहादुर हमाल,योग शिक्षक अर्जुन न्यौपाने,नेपाल वेद विद्याश्रम शिक्षक कृष्ण प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्नुहुँदै मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारीले युवावस्थाका किशोर एवम् बालबालिकाहरूलाई योग सिकाउन अपरिहार्य रहेको बताउनुभयो । उहाँले फाउन्डेसनले पनि त्यही अनुरूप कार्यक्रमहरू सञ्चालन गर्न लागिरहेको बताउनुभयो । योगको जन्मभूमि नेपाल रहेको बताउनुहुँदै अध्यक्ष भण्डारीले नेपालको योगलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी पश्चिमालाई मात्र गाली गर्छौ । हामी हाम्रो नलेजलाई अन्ताराष्ट्रिय करण गर्न खोज्दैनौ । यसले हामी आफै पछाडि पर्छौँ । पश्चिमाहरू आफ्नो नलेज अरूलाई बाढ्छन् र अरूका नलेज आफू लिन्छन्’,उहाँले भन्नुभयो । जननेता मदन भण्डारीलाई स्मरण गर्नुहुँदै अध्यक्ष भण्डारीले मदन भण्डारीले पनि योग गर्ने बताउनुभयो । ‘राति म सुतिरहेको हुन्थे उहाँ राति किताब पढिरहनुहुन्थ्यो । बिहान म उठ्दा उहाँ योग गरिरहनुहुन्थ्यो’,उहाँले भन्नुभयो । 

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै योग साधक आदर्श भट्टराईले विभिन्न देश विदेशबाट योगीहरू आएर नेपालमा योग सिक्ने गरेको बताउनुभयो । उहाँले राज्यले योगलाई बेवास्ता गरेको बताउनुभयो । ‘योगमा मानव सभ्यताको सबै कुरा छ । यसको जन्मभूमि नेपाल हो’,उहाँले भन्नुभयो । उहाँले नासाका वैज्ञानिकले पनि योग गर्ने गरेको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै हंसदा योग आश्रमका उद्धव प्रसाद भट्टराईले योगको जन्मदाता भगवान् सदा शिव रहेको बताउनुभयो । प्राचीन ग्रन्थका कथा उक्काउँदै उहाँले दुःख र अनुशासन सिकाउने योग रहेको बताउनुभयो ।शारीरिक फुर्ती,मानसिक सन्तुलन,भौतिक विकास,बौद्धिक विकास,आत्मा जागरण,व्यवहारमा कुशलता र आत्मा शान्तिका लागि योग अपरिहार्य रहेको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा बाल्नुहुँदै पाशुपत योगका केशव प्रसाद चौलागाईँले मदन भण्डारी फाउण्डेसनले योगलाई व्यवस्थापन र प्रभावकारी बनाउन राज्यलाई घच्घच्याउन पर्ने बताउनुभयो । उहाँले योगमा सूर्यलाई नमस्कार गर्ने नियम मुसलमानहरूले नगरेको बताउनुभयो । उहाँले योगलाई थप प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल सभ्यता र संस्कृतिको उद्गम स्थल रहेको बताउनुहुँदै उहाँले भन्नुभयो ‘हामीसँग ज्ञान छ,हामीसँग योग छ तर पनि हामी पश्चिमा संस्कृतितर्फ मोहित भइरहका छौँ,हामी पश्चिमाको सिको गरिरहेका छौँ ’,उहाँले भन्नुभयो । 

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै पाशुपत योगका स्वामी सुशील महात्माले नेपालीहरूले गर्ने योग वेदयुक्त योग रहेको बताउनुभयो । योग शिवबाट उत्पन्न भएको बताउनुहुँदै महात्माले योगका विषयमा चर्चा गर्नुभयो । ‘संसारमा जती पनि योग छ,त्यो पाशुपत योग हो,एक थरी वेद युत्त योग छ र अर्को वेद अयुक्त योग छ ,पाशुपत योगमा मन्त्र योग,हट योग ,प्राणायाम योग ,लय योग र राजयोग रहेको छ ’,उहाँले भन्नुभयो । 

त्यस्तै कार्यक्रममा योगका शिक्षक अर्जुन न्यौपानेले सूक्ष्म योगको अभ्यास गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण सांस्कृतिक अध्येता एवं मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सचिवालय सदस्य घनश्याम कोइरालाले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल वेद विद्याश्रमका शिक्षक कृष्ण प्रसाद भण्डारीद्वारा लिखित ‘संस्कृतव्याकरणम्’ नामक पुस्तक फाउन्डेसनकी अध्यक्ष एवम् मदन भण्डारी मेमोरियल कलेजका प्रधानाध्यापक  डम्बर बहादुर हमाललाई वितरण गर्नुभएको थियो । फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारीले शिक्षक भण्डारीलाई रुद्राक्षको माला लगाएर सम्मान गर्नुभएको थियो । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ३२ बजे