तीन प्रदेशमा वर्षाको सम्भावना

भोलिदेखि आन्तरिक तथा बाह्य उडान बन्द (विज्ञप्तिसहित)

​​​​​​​काठमाडौं । वायुसेवा सञ्चालक संघले भोलिबाट आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चालक संघले  पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही राख्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको हो । 

मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने लगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने निर्णय गरेको छ ।

संघले यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नु पर्ने, भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनु पर्ने, विमानस्थलहरूबाट विना अवरोध सेवा सञ्चालन गर्न पाउनु पर्ने लगायतका पाँच बुन्दे माग सम्बोधन नभएसम्म बाध्यात्मक रूपमा आफूहरूले आपत्कालीन उद्धार लगायत नियमित उडानहरू स्थगित गर्ने र यसको जिम्मेवारी स्वयम् मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण रहेको सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताउनु भएको छ ।

यो कठोर कदमले स्वदेशी तथा विदेशी यात्रु वर्गहरूमा पर्न जाने समस्या प्रति संघले गम्भीर क्षमा याचना गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरेको छ  ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ०० बजे