जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

भ्यानकुभर । कुनै पनि पुस्तकालयबाट पुस्तक लगेपछि प्रायः मानिसले तोकिएको मितिमा नै पुस्तक फिर्ता गर्नुपर्ने हुन्छ । तर, एक जना यस्ता व्यक्ति भेटिएका छन् जसले दशकौँपछि पुस्तक फिर्ता गरेका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर, क्यानडाको भ्यानकुभरमा यस्तै घटना भएको छ ।

त्यहाँको सार्वजनिक पुस्तकालयले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गर्दै ५१ वर्षपछि एउटा किताब ठ्याक्कै उस्तै अवस्थामा फर्किएको जनाएको छ । कितावसँगै एउटा मनछुने नोट पनि पठाइएको छ । 

‘तपाईको पुस्तकालयबाट । धेरै माफ गर्नुहोस् यो अलि ढिलो भयो । ५१ वर्ष भयो । तर धेरै राम्रो अवस्थामा छ । धन्यवाद ।’, नोटमा भनिएको छ । भ्यानकुभर पब्लिक लाइब्रेरी अफ साउथ हिलले सार्वजनिक गरेको तस्बीअनुसार ‘द टेलिस्कोप’ नामको पुस्तक ह्यारी एडवर्ड निलले  लेखेका हुन् । 

पुस्तक भित्रको कार्डमा लगाइएको छापमा पुस्तक बुझाउने अन्तिम मिति सन् १९७१ को २० अप्रिल लेखिएको छ । पुस्तकको तस्बिर पुस्तकालयले जुन ७ मा क्याप्ससहित सेयर गरेको थियो । क्याप्सनमा लेखिएको छ, ‘यस पुस्तकमा भएको यस्तो मीठो नोट हाम्रो दक्षिण हिल शाखामा केही ढिलो (५१ वर्ष!) पछि फर्कियो ।’
 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ४३ बजे