तीन प्रदेशमा वर्षाको सम्भावना

कृषि विकास कार्यालय मुगुका ६६ योजना प्रदेश सरकारलाई नै फिर्ता

मुगु । कृषि विकास कार्यालय मुगुले कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ६६ योजना कार्यान्वयन नगरी फिर्ता पठाउने भएको छ।  जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा सञ्चालन हुने गरी मन्त्रालयबाट स्वीकृत भएर आएका ६६ वटा योजना समय अभावका कारण कार्यान्वयन गर्न नसकिने भन्दै कृषि विकास कार्यालय मुगुले मन्त्रालयमै फिर्ता पठाउन लागेको हो । 

गत माघ १८ गते मन्त्रालयले १० देखि १५ लाखमुनिका योजना कार्यान्वयन नगर्न जिल्ला कृषि विकास कार्यालयलाई पत्राचार गरेको थियो। भौतिक पूर्वाधार निर्माण, साना सिँचाइ, भवन निर्माण, संकलन केन्द्र, पानीट्यांकी, पानी भकारी लगायतका तीनदेखि आठ लाखसम्मका ६६ वटा योजना कार्यान्वयन नगरी फिर्ता पठाउन लागिएको कार्यालयले जनाएको छ। 

मन्त्रालयबाट स्वीकृत भएर आएका ६८ मध्ये छायानाथ रारा नगरपालिकाको आठ लाखको ठाडो सिँचाइ कुलो र पाँच लाखको गाडापानी सिँचाइ कुलो मात्रै सम्झौता गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख खेमराज शाहीले जनाकारी दिनुभयो। बाँकी ६६ योजना हालसम्म सम्झौता नभएको र अब एक महिनाको छोटो समयमा काम गर्न नसकिने हुँदा मन्त्रालयमै फिर्ता पठाउनुपरेको उहाँको भनाइ छ।  

उक्त ६६ योजनाको तीन करोड ५४ लाख बजेट मन्त्रालयमै फिर्ता जाने भएको छ। एकातिर ढिलो बजेट निकासा र अर्कोतिर मन्त्रालयले १५ लाखमुनिका योजना कार्यान्वयन नगर्न पत्र पठाएपछि ६६ योजना कार्यान्वयन गर्न नसकी फिर्ता पठाउनुपरेको शाहीले बताउनुभयो। फिर्ता पठाइएकामध्ये छायाँनाथ–रारा नगरपालिकाका २८, सोरु गाउँपालिकाका २८, खत्याड गाउँपालिकाका १२ र मुगम कार्मारोङ गाउँपालिकाका दुई योजना रहेका छन् । 

‘गत १८ माघमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना कार्यान्वयन नगर्नू भनी पत्र पठाएको थियो। फेरि गत १६ जेठमा अर्को पत्रमा कार्यान्वयन गर्नू भनेर पठायो । हामी कर्मचारीले कसरी काम गर्ने ?’,कार्यालय प्रमुख शाहीले भन्नुभयो ।

पहिले नै पर्याप्त  जनशक्ति नभएको कार्यालयमा ६ जनामाथि अख्तियारको मुद्दा रहेको उहाँले बताउनुभयो ।  विगतका वर्षमा कृषि कार्यालयले असारमा समेत उपभोक्ता समितिसँग योजनाहरू सम्झौता गरी बजेट निकासा गर्ने गरिएको थियो। 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ४८ बजे