हिजो पार्टी विभाजनमा सघाउने—आज वाम गठबन्धनको गीत गाउने

असार १ गते बुधवार ‘वामपन्थी आन्दोलनको सङ्कट र वाम एकताको उपाय’ विषयक गोष्ठीमा राष्ट्रिय सभागृहमा घनश्याम भुसालको अगुवाइमा एक दिने विचार कार्यक्रम आयोजना भएको थियो । घनश्याम भुसाल र टङ्क कार्कीहरूले सङ्घ र प्रदेशको चुनावअघि वामपन्थी दलहरूबीच सहकार्य, गठबन्धन र पार्टी एकता हुनुपर्ने नभए पराजित हुन तयार हुनुपर्ने भन्दै नेतृत्वलाई चेतावनी सहित पाँच वटा उपायहरू सार्वजनिक गरेका छन् । ती उपाय हुन् —
​​​​​​​१) गोप्य सम्झौता गलत थियो भनौँ,
२) संसद् विघटन गर्नु गल्ती थियो भनौँ,
३) सिद्धान्त अनुकूलको कार्यक्रम र सङ्गठन बनाऔँ,
४) तत्कालै चुनावी वामोर्चा बनाउँछौँ भनौँ,
५) एउटा माफी सप्ताह आयोजना गरौँ !

माथिका पाँच उपायहरू सार्वजनिक भएपछि यसको बारेमा सामाजिक सञ्जालदेखि लिएर मिडियाहरूमा यसका बारेमा चर्चाहरू भइरहेका छन् । केपी ओली अर्थात् नेकपा एमाले विरोधी मिडियाहरूले घनश्याम भुसालका भनाइहरूलाई प्राथमिकता दिएर सम्प्रेषण गरेका छन् । ती मिडियाहरूले घनश्याम भुसाललाई प्राथमिकता दिनुका पछाडिका धेरै कारणहरू छन् । मुख्य र पहिलो कारण केपी ओलीको विरोध नै हो, तर घनश्याम भुसालले भने आफ्नो ख्याति बढेको ठानेका छन् । यही भ्रममा घनश्याम भुसाल कुन कुरा अथवा मुद्दा कहाँ गर्ने हेक्का नराखी हौसिएर बोल्दै र लेख्दै छन् ।

नेकपा हुँदै नेकपा एमालेमा विभाजन आउनुका पछाडिको रूप पक्ष हेरेर केपी ओलीलाई मुख्य दोषी देखाउने प्रयत्न भइरहेको छ । जब कि, सार पक्षका बारेमा थाहा पाए पनि नपाएझैँ गरेर उनीहरूले रूप पक्षलाई प्रधान मानेर सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । त्यस्ता अभिव्यक्तिहरूले नेता तथा कार्यकर्ताहरूलाई मात्र होइन, आमजनतालाई पनि भ्रमित बनाउने काम गरेको छ । यसबाट दक्षिणपन्थी राजनीतिक खेमा भने उत्साहित बनेको छ ।

वि.सं. २०७४ को सङ्घ र प्रदेशको चुनावमा नेकपा एमाले र माओवादी केन्द्र बीचको गठबन्धनले लगभग दुई तिहाइ बहुमत पाएपछि केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रयास स्वरूप तीन महिना नयाँ सरकार बन्न सकेन । उपेन्द्र यादवको पार्टीले सबभन्दा ठुलो दल नेकपा एमालेलाई बाहिर राखेर जनादेश विपरीत अर्को सरकार बनाउन नहुने तर्क राखेपछि प्रचण्ड केपी ओलीलाई स–सर्त प्रधानमन्त्री मान्न तयार भएका थिए। सुरूवातमा नै सरकार गठनमा असहयोग गरेका प्रचण्डले पार्टी एकीकरणपछि पूर्व एमालेभित्रको गुटलाई उपयोग गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई विस्थापित गरेर राज्य सत्ता र पार्टी सत्ताको नेतृत्व आफूले लिने प्रयास गरेका थिए । तर दुई वर्षसम्म प्रधानमन्त्री हटाउन नमिल्ने संवैधानिक प्रबन्धका कारणले प्रचण्डहरू मौन जस्तो देखिएका थिए ।

वि.स. २०७६ फागुनमा सरकार बनेको दुई वर्ष पुगेपछि र केपी ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएपछि केपी ओलीलाई नेकपाभित्रै अल्पमतमा पार्ने अनि पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने गतिविधिको नेतृत्व प्रचण्डले गर्न थालेका थिए । २०७७ कात्तिक २८ मा आइपुग्दा त्यो १९ पन्ने आरोप पत्रका रूपमा सार्वजनिक भयो । त्यही आरोप पत्र फिर्ता नगरी असंसदीय तरिकाले केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोज्दा २०७७ पुस ५ मा संसद् विघटनजस्तो अप्रिय राजनैतिक निर्णय लिन केपी ओली बाध्य भएका थिए । पुस ५ गतेपछि सडकबाट केपी ओलीलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालियो र संसदीय दलको नेताबाट हटाइयो । त्यसको प्रत्यक्ष नेतृत्व माधव, झलनाथ र प्रचण्ड अर्थात् माझण्डहरूले गरेका थिए । माझण्डहरूलाई त्यसो गर्न सघाउने मुख्य एउटा पात्र घनश्याम भुसाल नै थिए ।

सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेर संसद् पुनर्स्थापनाको मागलाई सदर गरेपछि राजनीतिक माहौल एकाएक माझण्डहरूको पक्षमा गएको थियो । तर नेकपा सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको नाम अवैधानिक भनेपछि एमाले र माओवादी पार्टी कायम हुँदा केपी ओली फेरि राजनीतिक रूपमा शक्तिशाली हुन पुगे । केपी ओलीलाई पार्टीविहीन बनाउने माझण्डहरूको रणनीति असफल बन्न पुग्यो । घनश्याम भुसालहरू माधव नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गर्ने योजनाबमोजिम २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत माग्दा संसद्मा अनुपस्थित भएर सरकारलाई अल्पमतमा पारेका थिए । ठुलो दलको नेताको हैसियतमा केपी ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाए, तर विश्वासको मत पाउने अवस्था नभएपछि र अर्को सरकार बन्ने प्रक्रिया पूरा नभएपछि स्वतः संसद् विघटन भएर निर्वाचन घोषणा भएको थियो ।

संसद् विघटनको विरुद्धमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग्दै माझण्डहरू लामबद्ध भएर सर्वोच्च अदालतमा औँठा छाप लगाउन पुगेका थिए । उनीहरू जसरी पनि केपी ओलीलाई कमजोर बनाउन चाहन्थे । त्यसैले माधव नेपालको नेतृत्वमा घनश्याम भुसालहरूले सके पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने नसके पार्टी फुटाउने नीति लिएका थिए । तर कार्यकर्ताहरूको दबाब र राजनैतिक परिस्थितिले माधव नेपालले नयाँ पार्टी बनाउन खोज्दा पनि घनश्याम भुसालहरू १० बुँदे सहमति गरेर एमालेमा नै फर्किए । तर उनीहरूको तन एमालेमा भए तापनि मन माधव नेपालसँगै थियो । त्यसैले सौराहा महाधिवेशनमा भीमबहादुर रावलको नेतृत्वमा सहमतिको महाधिवेशन बन्न नदिन घनश्याम भुसालहरूले उम्मेदवारी दिएका थिए । आफू पराजित भएको महाधिवेशनलाई घनश्याम भुसालले यक्ष प्रश्न कार्यक्रममा महाधिवेशनलाई ‘सौराहा काण्ड’ भनेका थिए । त्यो भनाइलाई एमाले विरोधी मिडियाहरूले व्यापक बजारीकरण पनि गरेका थिए  ।

आजको घनश्याम भुसाललाई चिन्न र बुझ्न उनको इतिहासलाई पनि बुझ्नुपर्छ । अनि मात्र पक्ष विपक्षमा निष्पक्ष भएर लेख्न र बोल्न सकिन्छ । घनश्याम भुसालको विगतले उनको वर्तमानको चरित्र र प्रवृत्ति देखाएको छ । उनले कहिल्यै पनि वामपन्थी एकता र सबलीकरणको पक्षमा योगदान गरेका छैनन् । बरु समय–समयमा विभाजनमा बल पुग्ने गरी सक्रिय भूमिका निर्वाह गरेका छन् । जस्तै: २०३८/३९, २०५४/५५ र २०७७/७८ मा पार्टी फुटको पक्षमा गरेका गतिविधिलाई निरन्तरता दिँदै वाम गठबन्धनका लागि पाँच सूत्रहरू सार्वजनिक गरेका छन् । उनको उद्देश्य पार्टीमा माझण्डहरूलाई भित्र्याउने र केपी ओलीलाई एक्ल्याउने नै हो ।

घनश्याम भुसाललाई लागेको छ, ‘मैले वामपन्थी एकता र सबलीकरणमा ठुलै वैचारिक तथा राजनैतिक योगदान गर्दैछु ।’ तर त्यो उनको भ्रम हो किन भने उनका गतिविधिहरूले दक्षिणपन्थीहरूको मनोबल बढाउने र एमालेलाई कमजोर बनाउने काम गरेको छ । कमरेड घनश्यामलाई कसले सम्झाई देला ? घनश्याम भुसाल आफै नै वैचारिक र व्यावहारिक रूपमा वामपन्थी एकता कसरी गर्न सकिन्छ, स्पष्ट छैनन् । केही एमाले विरोधी मिडियाहरूले भाउ दिएको भरमा हौसिएर घनश्याम भुसाल पार्टीको मुख्य नेतृत्वका विरुद्ध अराजक भएर प्रस्तुत भइरहेका छन् ।

घनश्याम भुसालका गतिविधिहरूलाई लिएर अस्मिता थापाले ‘घनश्याम भुसाललाई बोल्न देऊ’ शीर्षकमा लेखेकी छिन्, खुलमखुला पार्टीका उम्मेदवारहरू हराउनेहरू त विभिन्न विभागहरूमा फुली लाउँदै छन् भने घनश्याम भुसालले नेतृत्वको आलोचना गर्दा केही हुन्न । तर भुसालले राष्ट्रिय मुद्दामा संसद् र पार्टीको मुद्दामा पार्टी कमिटीमा होइन, एमाले विरोधी डबलीमा गएर केपी ओलीको राजीनामा माग्नु पार्टीको हित हो कि विपक्षीको ? कमरेड घनश्याम – तपाईँलाई तिनीहरूले ओलीको विरोध गरुन्जेल उपयोग गर्ने हुन् ।

उनी अरू भन्छिन्, आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा अनुपस्थित हुने र काँग्रेस सभापतिलाई प्रधानमन्त्री बनाइ पाउँ भन्दै हस्ताक्षर बोकेर राष्ट्रपति भवन र सर्वोच्च अदालत धाउनु गल्ती थियो भन्न नसक्नेहरूले एमालेको नेताकै हैसियतमा वाम एकताको दुहाई दिनु अर्थ छैन ।

त्यस्तै, आरएस घोरासैनीले घनश्याम भुसालको माफी सप्ताह आयोजना गरौँ भन्ने उपायलाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, दलीय पद्धतिमा आफ्नै दलको प्रधानमन्त्री हटाउने संसदीय दलको वैधानिक बाटो छँदाछँदै आफ्नो दलको नेतालाई विश्वासको मत नदिई प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालत धाउने नेताले माफी सप्ताह मात्र होइन माफी वार्षिकी नै मनाए पनि कम हुन्छ । 

त्यसैगरी अञ्जना सापकोटा सामाजिक सञ्जालमा लेख्छिन्, घनश्याम भुसालले संसद् विघटन गलत थियो भनौँ, गोप्य सम्झौता गलत थियो भनौँ र माफी सप्ताह मनाएर वाम एकता गरौँ भन्नु भएछ । आपराधिक १९ पन्ने आरोप, ओलीलाई पार्टीबाटै निकाल्ने र सर्वोच्च अदालतमा लाम लागेर एमालेकै सरकार ढाल्ने काँग्रेसको खेतालाको बारेमा चाहिँ केही नि बोल्न मिल्दैन नि हैन कमरेड घनश्याम भुसाल ?

रमेश कंडेलले सामाजिक सञ्जालमा लेखेका छन्, एमाले बनाउनु पर्ने र विरोधीहरूसँग प्रतिस्पर्धा गरेर जित्नुपर्ने दायित्व त एमालेका कार्यकर्ताहरूको हो, घनश्याम भुसालको जिम्मेवारी ओली र एमालेको उछितो काढ्दै मिडियाको हिरो बन्नु र एमाले विरोधीको रोल मोडल बन्नु हो ।

माथिका केही प्रतिनिधिमूलक टिप्पणीहरूले घनश्याम भुसालले गलत मञ्चहरू प्रयोग गरेर पार्टीको आन्तरिक जीवन र मुख्य नेतालाई नकारात्मक रूपमा चिनाउन खोजेका छन् भन्ने बुझिन्छ । हुन पनि हो, पार्टी कमिटीमा उठाउनु पर्ने मुद्दा कान्तिपुरलगायतका मिडियाहरूमा लेखेर बोलेर आफ्नो मार्क्सवादी बौद्धिकता छरपस्ट बनाएका छन् । संसद्मा उठाउनु पर्ने राष्ट्रिय मुद्दामा भने कहीँ कतै केही बोल्दैनन् र लेख्दैनन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र टिकाउन लागि परेका माझण्डहरूलाई वामपन्थी देख्छन् भने आफ्नै पार्टीका अध्यक्ष केपी ओलीलाई घुमाउरो पारामा दक्षिणपन्थी भन्छन् ।

त्यसैले घनश्याम भुसालका बोली र व्यवहारमा कतै तालमेल छैन, मार्क्सवादी चिन्तन भेटिँदैन किनभने उनले नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउनेदेखि जनादेश प्राप्त केपी ओली नेतृत्वको सरकार परमादेशबाट विस्थापित गर्नसम्म माझण्डहरूसँग मिलेर मुख्य भूमिका खेलेका थिए । दक्षिणपन्थीहरूको ‘विभाजन र शासन’ नीतिलाई सघाउ पुग्ने गरी हिजो वामपन्थी विभाजनमा सघाउने र आज वामपन्थी सहकार्य र वाम गठबन्धनको गीत गाउने काम घनश्याम भुसालले गरिरहेका छन् भन्न कुनै सङ्कोच मान्नु पर्दैन ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ३२ बजे