नेपालको कुरिलो विदेश निर्यात

चितवन । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । 

भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।  

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उहाँले सातामा दुई पटक कुरिलो लाने गर्नुभएको छ  ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उहाँले भनाइ छ । आफूहरूले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ । 

विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आउनुभएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आउनुभएको छ । कुरिलो व्यवसाय दुई बिगाहा क्षेत्रफलमा गर्दै आउनुभएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

भरतपुर महानगरमा व्यावसायिक रूपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउँदै उहाँले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या रहेको उहाँले गुनासो गर्नुभयो । अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा बिचौलिया नियन्त्रण हुन सके राम्रो मुनाफा हुने उहाँले जानकारी दिनुभयो । आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उहाँले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नुपर्छ । विदेश जानुपर्ने अवस्था आउँदैन ।”

उहाँले १८ बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । सो जग्गामध्ये दुई बिगाहा आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्नुभएको हो ।  सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौँला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी उत्पादन भइरहेका छन् । उत्पादित तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्ने हो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बाबुआमाले विसं २०५० देखि गर्दै आएको यो व्यवसाय भएकाले आफूले यसलाई व्यावसायिक रूप दिएको उहाँको भनाई छ ।

कुरिलो र तरकारीलाई व्यावसायिक रूपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ  । उहाँले भन्नुभयो, “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिइने गरेको जनाउँदै उहाँले वास्तविक किसानले अहिलेसम्म अनुदान पाउन नसकेको बताउनुभयो ।रासस

 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : १९ बजे