तीन प्रदेशमा वर्षाको सम्भावना

मैलुङ–स्याफ्रुबेँसी सडक स्तरोन्नति अलपत्र

रसुवा । चीनसँग हाल खुला रहेको नेपालको एक मात्रैको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड स्तरोन्नतिको काम अलपत्र परेको छ ।

सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले कामअघि नबढाउँदा नाका जोड्ने छोटो दुरीको सडक वर्षैदेखि अलपत्र परेको हो । 

सडक स्तरोन्नतिका लागि भारत कन्स्ट्रक्सन÷सिद्धि साई जेभीले जिम्मा लिएको थियो । जेभीले पेटी ठेकेदार कम्पनीमार्फत सडक स्तरोन्नति गरिरहेको थियो । तर, पेटी ठेकेदारले समेत काम रोकेपछि सडक स्तरोन्नति ढप्प भएको छ । 

गत फागुनदेखि नै सडक स्तरोन्नति सुस्त भएको थियो । बिचमा केही समय पेटी ठेकेदारमार्फत काम भए पनि अहिले ठप्प रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाका प्रमुख नीरज शाक्यले बताउनुभयो । 

मुख्य ठेकेदार कम्पनीले काम गरेको पैसा नदिएपछि पेटी ठेकेदारले समेत काम रोकेका छन् । ३० पुस ०७९ सम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी भारत कन्स्ट्रक्सन÷सिद्धि साई जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनासँग १ साउन ०७७ सम्झौता गरेको थियो । सम्झौताको अवधि अब ६ महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताउनुभयो। हालसम्म २४ प्रतिशत मात्रै भौतिक प्रगति भएको गल्छी–त्रिशूली–मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाले जनाएको छ ।

हालसम्म टेवा पर्खाल लगाउने काम मात्र भएको र सडकसम्बन्धी कुनै पनि काम हुन नसकेको योजनाका प्रमुख शाक्यले बताउनुभयो । मुख्य ठेकेदार कम्पनीले सडक स्तरोन्नतिका लागि सडक योजनासँग सम्झौता भएयता सम्पर्कविहीन हुँदै आएको बताइएको छ । सडक योजनाले पटक पटक पत्राचार गरे पनि सम्पर्कमा नआउने र सम्पर्कमा आए पनि कामलाई गति नदिने गरेको पाइएको छ । 

ठेकेदार कम्पनीसँग सम्झौता भएयता सडक योजनाले पत्र र टेलिफोनमार्फत सम्पर्कमा आउन पटक पटक रूपमा ताकेता गरेको छ । योजना प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले कार्यालयमा सम्बन्धित व्यक्ति उपस्थित हुन धेरै पटक ताकेता गर्‍यौ तर आएका छैनन्, कारबाही प्रक्रियाअघि बढाउन थालेसँगै अहिले मेल गरेर हामी काम गएका छौँ भनेर भनेको छ, चित्त बुझ्दो जवाफ दिएको छैन ।’

सडक स्तरोन्नतिको कामलाई निरन्तरता नदिने र सम्पर्कमा नआउने भएसँगै कारबाही प्रक्रियाअघि बढाएको शाक्यले बताउनुभयो । ठेकेदार कम्पनीलाई काम गर्न सहजिकरणका लागि दिएको पेस्की रकम फिर्ता लिन बैकसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । बैङ्क लाई ग्यारेन्टी राखेर पेस्की रकम दिएका हुन्छौँ, त्यो फिर्ता ल्याउने प्रक्रिया भइरहेको छ ।

मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडक स्तरोन्नतिका लागि ठेकेदार कम्पनीसँग सडक योजनाले एक अर्ब ४५ करोड १३ लाख ३९ हजार ८४ रुपैयाँको सम्झौता गरेको छ । सडक स्तरोन्नतिको कामलाई सहजीकरण गराउन योजनाले सुरुमै ३६ करोड ७१ लाख ३६ हजार ९९ रुपैयाँ मुख्य ठेकेदार कम्पनीलाई दिइसकेको छ । 

योजनाको कार्यालयले ठेकेदार कम्पनीलाई साढे १२ करोड पेस्कीबापत दिइसकेको बताएको छ । सडक स्तरोन्नति अलपत्र पारेसँगै ठेकेदार कम्पनीलाई कारबाही गरी नयाँ ठेक्काको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । 

वर्षा याम सुरु भएसँगै मैलुङ स्याफ्रुबँेसी सडक हरेक वर्ष अवरुद्ध हुने गरेको छ । यो वर्षको वर्षा याम पनि सुरु भइसकेको छ । ठेकेदार कम्पनीले काम नगर्दा बाटो बन्द गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको शाक्यले बताउनुभयो। वर्षा याम सुरु भइसकेको छ, जोखिम छ, अहिले फिल्डमा काम भएको छैन । उहाँले भन्नुभयो, ‘ठेकेदारले काम नगर्दा सडक बन्द गर्नुपर्ने अवस्था आउन सक्ने स्थिति छ ।’

 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ०४ बजे