तीन प्रदेशमा वर्षाको सम्भावना

डा.भम्पा राई : जसले आफ्ना लागि आफैँ कफन बनाए

झापा । भुटानी शरणार्थी नेता डा.भम्पा राईले उहाँ कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राख्नुभयो । उहाँले आफ्ना लागि कफन आफैँ बनाउने र कुँवरलाई अडर दिन भन्नुभयो ।

संयोग पनि कस्तो ! जब कफन तयार भयो, तब डा. राई गम्भीर बिरामी पर्नुभयो । कफन तयार भएको केही घण्टामै उहाँको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि इन्द्र भाइ बिरामी पनि परिन्छ, के हो के हो एउटा बाकस बनाउनपर्‍यो भन्नुभयो । अडर पनि गरियो । उहाँले नै एडभान्स २० हजार रुपैयाँ दिनुभयो । सिसासहितको कफनका लागि जम्मा ३६ हजार तिर्नुभयो,’ उहाँ भन्नुहुन्छ, ‘ उहाँले त्यो बाकस किन ढिला भयो भनेर सोधिरहनुहुन्थ्यो । बल्ल हिजो शनिवार तयार भयो । बाकस ल्याएर रिक्साबाट झार्दै थिएँ । डाक्टर साब साह्रै बिरामी भएको खबर पाएँ । क्लिनिकमा डा.राईको कोठामा बास राखेर उहाँलाई उपचारका लागि अस्पताल लग्यौँ । राति उहाँको निधन भयो ।’

भुटानी शरणार्थी नेता डा.राईको ७२ वर्षको उमेरमा शनिवार राति विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो । डा.राई भुटानमा भुटानी राजपरिवारका डाक्टर हुनुहुन्थ्यो । उहाँ भुटानकै पहिलो सर्जन डाक्टर हुनुहुन्छ । उहाँलाई अन्य नेपाली भाषी भुटानीजस्तो नेपाल आउनुपर्ने बाध्यता थिएन । तर, नेपाली भाषीको मायाले भुटानी शरणार्थीसँगै नेपाल आउनुभएको हो । १९९१ पछि भुटान सरकारले नेपाली भाषीलाई गैर नागरिक भन्दै लखेट्यो । नेपाली भाषी दाजुभाइसँगै उहाँ नेपाल आउनुभएको थियो । उहाँ बिरामी परेका भुटानी शरणार्थीको निःशुल्क उपचार गर्दै आइरहनुभएको थियो । 

भुटानी शरणार्थी नेता डा.राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आइरहनुभएको थियो । तर, भुटानी शरणार्थीको पुनर्वासपछि उहाँको आन्दोलन कमजोर थियो । भुटान फर्कने उहाँको सपना अधरै रह्यो । भुटानप्रति उहाँको माया असाध्यै थियो । उहाँको क्लिनिकको टेबलमा भुटानको झन्डा सधैँ हुन्थ्यो । तर, देशले उहाँलाई अनागरिक बनायो । शरणार्थीले पनि बाच्न पाउनुपर्ने मुद्दा उठाउँदै आइरहनुभएका भुटानी शरणार्थी नेता डा.राई देशविहीन भएर अस्ताउनुभयो । भुटानी शरणार्थीहरू अभिभावक गुमाउन परेको बताउँछन् । डा.राईका बुबा, आमा, श्रीमती र दिदी पनि नेपाल आएरै बिते । उहाँका सन्तान छैनन् । उहाँले दमकमा तीन दशकसम्म डेरा गरेर बिरामीको उपचार गर्दै दमकको स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभयो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ४५ बजे