आउँदो  वर्षबाट दूतावासबाटै मतदाता नामावली सङ्कलन हुने 

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताउनुभएको छ । 

काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिबद्धता जनाउनुभएको हो। 

उहाँले भन्नुभयो, “बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।”

उहाँले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो। 

“समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।”

अहिले काठमाडौँमा बस्ने मतदाताको नामावलीको दर्ता सुरुवात भएको छ। यो प्रक्रिया फेरि यस्तो छ जुन दिन मतदान अर्को निर्वाचनको घोषणा हुन्छ घोषणा भएको एक मिनेटमा रोक्नुपर्छ । अब हामी यो चाहिँ घोषणा गर्ने तयारीमा छौँ मलाइ लाग्छ मैले नेपाल सरकारसँग माग राखेको छु। हामी निर्वाचन तयारीका लागि अलिकति समय दिन सक्छौँ । ८÷१० दिन, १०÷१५  दिन निर्वाचनको घोषणा नगरियोस् किनभने केही मतदाताहरू लाइनमा लागेर हामी मतदाता नामावली दर्ता गर्ने कामसम्म गर्छौँ । यो मतदानमा सरिक गराउँछौ भनेर हामीले भनिराखेका छौँ” उहाँले भन्नुभयो। 

“साथै आउँदो आर्थिक वर्षबाट केही दूतावासहरूमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्टेसन सिस्टम प्रारम्भ गरेर मतदाता नामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दै छ । तयारी दूतावासबाट प्रारम्भ हुन्छ”,  उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ७ : ४६ बजे