भारतीय सेना :अग्निपथ भर्ती योजनाविरुद्ध हिंसात्मक प्रदर्शन, तेलङ्गाना राज्यमा एक जनाको मृत्यु

भारत । भारतमा सैन्य भर्तीसम्बन्धी नयाँ योजनाविरुद्ध भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि कम्तीमा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

दक्षिणी भारतको तेलङ्गाना राज्यको सिकन्दराबाद सहरमा शुक्रवार प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा मृत्यु भएको हो ।

बिबिसीका अनुसार प्रहरीले भिडमा गोली चलाएको बताइए पनि गोली लागेर ती व्यक्तिको मृत्यु भएको हो या होइन भन्ने पुष्टि नभएको जनाएको छ । 

सेनालाई निश्चित चार वर्षका निम्ति भर्ती गर्ने योजनाविरुद्ध थुप्रै राज्यमा ठुला प्रदर्शनहरू भएका छन्।

आन्दोलनकारीहरूका अनुसार अस्थायी सैनिक भर्ती गर्ने सरकारको योजनाले सेनामा स्थायी जागिर पाउने सम्भावना घट्छ। त्यस्तै निश्चित तलब र सेवा निवृत्त भएपछि प्राप्त गर्ने पेन्सन पाउने सम्भावना पनि कम हुने उनीहरूको आशङ्का छ।

भारतमा सेनाको जागिर प्रतिष्ठा र नियमित कमाइसँग जोडिने र गरिबीबाट बाहिर निस्किने उपाय समेत हुने भएकोले त्यहाँका साना सहर र गाउँका युवाहरूले सैनिक बन्नका निम्ति वर्षौँसम्म तयारी गर्छन्।

बिहार, तेलङ्गाना, उत्तर प्रदेश र पश्चिम बङ्गालसहित धेरै राज्यमा उक्त योजनाको विरोध गर्दै धेरै मानिस आन्दोलित भएका छन्। बिहार र तेलङ्गानामा प्रदर्शनकारीहरूले सवारीसाधन र रेलका डिब्बाहरू जलाएका छन्।

यद्यपि कतिपय ठाउँमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप पनि छ।

के छ अग्नि पथ योजनामा ?

बिबिसीका अनुसार नयाँ अग्नि पथ योजना साढे १७ देखि २१ वर्षबिचका व्यक्तिहरू लक्षित छ। त्यसअन्तर्गत छानिएका युवकहरू चार वर्षका लागि सेनामा भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन्। भर्ती भएकाहरूलाई छ महिना तालिम दिइनेछ र त्यसपछि साढे तीन वर्ष काममा खटाइनेछ।

यस अवधिमा उनीहरूले मासिक ३०,००० भारतीय रुपैयाँ प्रारम्भिक तलब प्राप्त गर्नेछन्। थप सुविधा जोडिँदै जाँदा चार वर्षे सेवाको अन्त्यसम्म उक्त रकम ४०,००० रुपैयाँ हुनेछ।

नयाँ योजनाले सेनाको आधुनिकीकरण गर्नलाई रकमको चाप कम गर्ने ठानिएको छ। सरकारले यसले सेनालाई युवामय बनाउने समेत बताएको छ।

योजनाको विरोध गर्नेहरू यसै साताको आरम्भदेखि उत्तर प्रदेश र बिहारका उत्तरी राज्यहरूमा देखिएका थिए। अहिले अन्य राज्यमा पनि विरोध फैलिएको छ।

तेलङ्गाना राज्यको सिकन्दराबादमा सयौँ युवाहरूले स्थानीय रेल स्टेसनमा जबरजस्ती प्रवेश गरेर रेल र पसलहरूमा क्षति पुर्‍याएका छन्। केही आन्दोलनकारीले बिबिसीलाई बताएअनुसार झन्डै २,००० जना रेल स्टेसनमा पुगेका थिए।

बिबिसीका अनुसार उनीहरू रेलको पटरीमा प्रदर्शनका निम्ति जम्मा भएपछि केही घण्टाको लागि रेल आवागमन प्रभावित बन्न पुगेको थियो। उनीहरूले सामानहरू ट्र्याकमा फाल्दै त्यसमा आगो लगाएका थिए।

के भन्छ सरकार

आन्दोलनकारीहरूलाई शान्त पार्ने प्रयासमा सङ्घीय सरकारले बिहीबार राति अग्नि पथ भर्ती योजनाअन्तर्गत पहिलो वर्ष २३ वर्ष उमेरसम्मका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने घोषणा गर्‍यो। शुक्रवार सरकारले सामाजिक सञ्जालमार्फत छोटो अवधिका लागि भर्ती भएका सैनिकले कार्यकाल पूरा गरेपछि पाउने अवसरहरूबारे व्याख्या गरेको छ।

सशस्त्र बलमा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्नेलाई प्रहरी बलमा समायोजन गर्न आग्रह गरिने जनाइएको छ।

के भन्छन् सुरक्षा विज्ञ ? 

योजनाका आलोचकहरूले यस योजनालाई सशस्त्र बललाई कमजोर बनाउने र देशमा बेरोजगारी दर पनि बढाउने कार्यक्रमको रूपमा हेरेका छन्।

‘यो विवेकहीन कदम हो जसले सुरक्षा बलहरूको प्रभावकारितालाई असर पार्न सक्छ,’सेवा निवृत्त मेजर जनरल सेओनान सिंह भन्नुहुन्छ । 

‘पैसा बचाउने कुरा ठिक हो तर त्यो रक्षा फौजहरूको मूल्यमा हुनु हुँदैन। यदि तपाईँ कुनै अनुभवी सैनिकलाई लिएर युद्धमा जानुहुन्छ भने के चार वर्षको तालिम लिएका व्यक्तिले उनको मृत्युपछि उनको स्थान लिन सक्छ ? यी कुराहरूले त्यसरी काम गर्दैनन् । ’

तर योजनाका समर्थकहरूले यस योजनाले फौजलाई सशक्त बनाउन यस्ता योजनाहरू आवश्यक रहेको बताएका छन्।

यस योजनाले भारतीय सेनाको आधुनिकीकरणमा टेवा पुर्‍याउने सेवा निवृत्त मेजर जनरल एसबी अस्थानाको विचार छ।

‘पुराना मानिसहरूलाई आधुनिक प्रविधिअनुरूप तालिम दिन गाह्रो छ। तर यो पुस्ता बढी योग्य छ। यस योजनाले सेनालाई उत्कृष्ट २५ प्रतिशत सैनिकहरू राख्न र बाँकीलाई बिदा गर्ने स्वतन्त्रता दिन्छ।

बिबिसी

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ५८ बजे