भैरहवामा स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु

भैरहवा । उद्देश्य विपरीत सञ्चालित भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटेल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गर्नुभयो ।

सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरीत संरचना बनाएर होटेल चलाइरहेको छ । होटलको सोही स्विमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्यु भएको हो । 

गर्मी बढेसँगै स्वमीङ जानेको मानिसको सङ्ख्या बढेको छ, । गर्मी छल्न साथीहरूसँग स्विमिङ गर्न पुगेका  तुलाधर सवा ५ बजेतिर पानीमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताउनुभयो ।

बाल उद्यान सञ्चालन स्वीकृति पाएको कम्पनीले उद्देश्य विपरीतका संरचना बनाएर होटेल सञ्चालन गरिरहेको छ । होटेल परिसरमा २ वटा स्विमिङ पुल, र  माछा पालनसहितको एक पोखरी पनि छ, जहाँ बेला बेलामा बोटिङ हुन्छ । 

यही साता मात्रै बुटवलमा पनि स्विमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो । होटेल तथा वाटर पार्क र स्विमिङ पुल सञ्चालकहरूले सुरक्षा मापदण्ड नअपनाउँदा एक साता नबित्दै अर्को दुःखद घटना दोहोरिएको हो । सेफ्टी गार्ड र सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्नु पर्नेमा होटलहरुले बेवास्ता गर्दा दुखद घटना घट्ने गरेको छ ।

मृतकका भाइ अशोक राज श्रेष्ठले होटेलको स्विमिङ पुलमा चरम लापरबाहीका कारण दुःखद घटना भएको बताउनुभयो, उहाँले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : १९ बजे