सुब्बाको जागिर खाएर चार वर्षमै कमाए ६ करोड

काठमाडौं । एकजना सुब्बा सरहका कर्मचारीले ४ वर्षको जागिर अवधिमा गैरकानुनीरूपमा ६ करोडभन्दा बढी कमाइ गरेको ठहर गर्दै अीख्तायारले भ्रष्टाचार मुद्दा दायर गरेको  छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।  

२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।

भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाइ देखिएको अख्तियारले जनाएको छ ।  सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले गैरकानुनी सम्पति जफतको  मागदाबीसहित मुद्दा दर्ता गरेको हो । 
आयोगले  भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ। 

‘निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६.०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२.५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु। २६,६१,६३६.०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२.५३ घटाउँदा हुन आउने रु। ६,२४,०४,००६.४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा‘आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ‘, अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : ४२ बजे