अमेरिकालाई पत्र लेखेको साँचो हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताउनुभएको छ ।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याउनु भएको हो ।

त्यसमा उहाँले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको पनि जानकारी दिदै पछि २ वटा पत्र पनि लेखेको बताउनुभयो । ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माको भनाइ छ ।

तत्कालीन अवस्थामा कुनै सैन्य रणनीतिमा संलग्न नभई पत्र लेखिएको शर्माको भनाइ छ । उहाँले पछि अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमा जान लागेपछि सरकारलाई एसपीपीबाट फिर्ता हुन सरकारलाई पत्र लेखेको बताउनुभयो ।

उहाँले सरकारलाई लेखेको सो पत्र पनि देखाउने बताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ११ बजे