नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । 

योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको सङ्ख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधवार बिहीबार हस्ताक्षर गर्नुभएको थियो । 

विज्ञप्तिमा नेपालको तर्फबाट न्यूयोर्कस्थित राष्ट्रसङ्घीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्र सङ्घका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गर्नुभएको थियो । 

दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् । 

ट्रिनिडाड एण्ड टोबागो दक्षिण क्यारेबियन राष्ट्र हो । ५ हजार १२८ स्क्वायर किलोमिटर क्षेत्रफल रहेको ट्रिनीनाड एण्ड टोबागोको जनसङ्ख्या १४ लाख रहेको छ । सन् १९६२ अगस्ट ३१ का दिन ट्रिनिडाड एण्ड टोबागो बेलायतबाट स्वतन्त्र भएको थियो । 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : १३ बजे