पहिरोमा बेपत्ता भएका सासु बुहारीको शव भेटियो

काठमाडौं – तीनदिन देखिको बर्षाका कारण पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको छ ।

पहिरोले एउटा हाइड्रोपावर र झोलुङ्गेपूल बगाएको छ । गएराति साढे दश बजे तिर पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । यशोदाका श्रीमान् विष्णु अधिकारीलाई भने पहिरोले ठेलेर बाहिर हुत्याएको उपाध्यक्ष लिम्बूले बताउनुभयो ।

उहाँलाई उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ । त्यो घरमा तीन जना मात्र रहेको र छोराछोरी झापातर्फ आएको बुझिएको छ । पहिरोले वडा नम्बर ६ मा रहेको खाक्सेबा हाइड्रोपावर बगाएको छ । खाक्सेवा खोलाको झोलुङ्गेपूल पनि बगाएको छ । पूल बगाएपछि वडा नम्वर ६ र ८ का बासिन्दालाई आवतजावत गर्न समस्या छ । ठाँउ ठाँउमा पहिरोका कारण कञ्चनजंघा लोकमार्ग अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : १२ बजे