सिद्धार्थ गौतमको महभिनिष्क्रमण स्थल सुस्ताको अनोमाघाटमा महाभिनिष्क्रमण दिवस मनाइने 

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकाले भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाट (ठाढीघाट) मा असार पूर्णिमामा महाभिनिष्क्रमण दिवस मनाउने तयारी थालेको छ ।

अनोमा घाटलाई नेपालको बोधगयाको रूपमा धाम विकास गर्ने लक्ष दिएको सुस्ता गाउँपालिकाले अनोमाघाटको विकास र प्रचार—प्रसार गर्ने उदेश्यकासाथ महाभिनिष्क्रमण दिवस मनाउने तयारीमा जुटेको हो । 

बौद्धग्रन्थ अनुसार यो अनोमाघाट भगवान बुद्धको एक महत्वपूर्ण घटना स्थल हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले यस क्षेत्रलाई बौद्धतीर्थको रूपमा विकास गर्ने कार्य गाउँपालिकाले अगाडि सारेको बताउनुभएको छ । ‘गण्डक बाँध अन्तर्गत नेपाल बाँधको स्पर नं.५ नजिकै रहेको पालिकाको गौरवको आयोजनाभित्र अनोमाघाट समावेश गरी काम भइरहेको छ’, अधिकृत पौडेलले भन्नुभयो । ‘यस क्षेत्रको विकासका लागि गाउँपािलकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन लगाएको छ । पहिलो चरणमा स्थानीयवासी र सरोकारवालासँग छलफल भइसकेको छ । असार ८ गते डिपिआरको अन्तिम प्रस्तुति भएर पास हुने छ । त्यसपछि सो डिपिआर अनुसार काम अघि बढाइने छ । गाउँपालिकाको बजेटले मात्र नभ्याउने भएको हुँदा थप आर्थिक स्रोतका लागि संघीय सरकार र लुम्बिनी प्रदेश सरकारसँग पनि पहल गरिने छ । सुस्ता गाउँपालिकाभित्र पर्ने भए पनि यो स्थान गाउँपालिकाको मात्रै नभई अन्तर्राष्ट्रि महत्वको राष्ट्रिय सम्पदा हुने छ । यसमा दातृ निकायले पनि चासो देखाएका छन् । यसले गर्दा अनोमा घाट भगवान बुद्धको महाभिनिष्क्रमण स्थलको रूपमा विकास हुनेमा हामीले विश्वास लिएका छौ’, अधिकृत पौडेलले थप्नुभयो । ‘यसलाई बोधगयाको रूपमा विकास गरेर विश्व सम्पदामा सूचीकृत गराउनु पर्छ ।’

सिद्धार्थ गौतमले बोधी (ज्ञान)को खोजी गर्दै बुद्धत्व प्राप्त गरेको बोधगाय अन्तिम स्थान हो भने बोधी (ज्ञान) खोजीको प्रस्था बिन्दु यही अनोमाघाट हो । अनोमा घाटसम्म आउँदा सिद्धार्थ युवराज थिए । तर यही अनोमा घाटमा उनले आफ्नो राजशी पोसाक त्याग गरे, कपाल मुण्डन गरे र सन्यास धारण गरी बोधीको खोजीमा लागेको महत्वपूर्ण स्थान हो । ईसापुर्व ५ सय वर्ष पहिलाको प्राचीन कपिलवस्तु राज्यका युवराज सिद्धार्थ गौतम ज्ञानको खोजीमा असार पूर्णिमाको राती गृहत्याग गरी घरबाट निस्केर कोलीय गणराज्यको अन्तिम सिमा अनोमा नदीको यही किनार अनोमा घाटमा पुग्नुभएको थियो । यो कोलीय गणराज्यको अन्तिम सिमा पनि हो । अनोमाघाट र अनोमा नदी पूर्व मगधको यस अधीनस्थ भएको भुभागमा सिद्धार्थको राजशी घोडा कण्टक जान मानेन,  घोडा त्यहीँ उभियो स्थानीय भाषामा ठढा भयो, ठाडियो । त्यसै बेलादेखि स्थानीय स्तरमा ठाढीघाट भनेर चिन्ने गरिएको छ । त्यहीँबाट सिद्धार्थका सारथी छन्ना सो घोडा लिएर कपिलवस्तु फर्केका थिए । सिद्धार्थ गौतम सन्यास धारण गरेर मगध राज्यको सिमामा प्रवेश गरेको यहीँबाट हो । बुद्धले तत्कालीन मगध सम्राट बिम्बिसारसँग सन्यासीको भेषमा भेट भएपश्चात् मगधमा पशुबलिप्रथा पनि हटाउन लगाएको प्रसंग उल्लेखनीय छ ।

अनोमा घाट बुद्ध स्थलको रुपमा विकास गर्न सकिएमा संसारका बौद्धमार्गी एक पटक अनोमा घाटमा आएर मुण्डन गराउने छन् । भगवानप्रति श्रद्धा व्यक्त गर्नेछन् । यिनै ऐतिहासिक प्रसंगलाई अघि बढाउन असार पूर्णिमामा महाभिनिष्क्रमणको दिन मुण्डन गर्ने प्रथाको पनि शुभारम्भ गरिने योजना प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी गराउनुभएको छ । गत वर्ष पनि पिस क्लब इन्टरनेसनलको अयोजना र गाउँपालिकाको सहयोगमा महाभिनिष्क्रमण दिवस मनाइएको थियो । यस पटक थप व्यापकता र भव्यतासाथ यो दिवस मनाउने योजना रहेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो । लुम्बिनी सिद्धार्थ गौतमको जन्म स्थल हो, अनोमाघाट सिद्धार्थ गौतमको सिद्धार्थबाट बुद्ध बन्ने प्रक्रियाको प्रारम्भबिन्दु हो । अनोमाघाट अति नै पवित्र बौद्धतीर्थ स्थल हो । अहिलेसम्म खोज नहुँदा र स्थानीय जनमानसमा यसबारे प्रचार प्रसार र जानकारी नभएका कारण ओझेलमा थियो । परम्पारगत रूपमा ठाढी घाटको मेला भनेर चिनिने भए पनि यसको प्राचीन महत्व अहिले मात्र खोजले पत्ता लागेको छ । प्राचीन महत्वको खोजले सुस्ता गाउँपालिकालाई यसले थप उत्साहित बनाएको उहाँको भनाइ थियो । 
 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ०६ बजे