माथिल्लो मनाङमा हिमपात

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

बागलुङ । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपियो) को बिक्री खुला गरेको हो । 

आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले शेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताउनुभयो । सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उहाँको भनाइ छ । 

न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । 

स्थानीयवासीले ग्लोबल आइएमई बैङ्कको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैङ्कको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ । 

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ । रु ५१ करोडको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैर आवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन् ।  रासस

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १० : २६ बजे