टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैर आवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ । 

नेपाल सरकारको पर्यटन मन्त्री स्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । 

मन्त्रालयले सुवेदीलाई दिएको नियुक्ति पत्रमा  नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका लागि  योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमति पत्र सहित सपरिवार अमेरिका पुग्नुभएको थियो । 

उहाँ गैर आवासीय नेपाली सङ्घ अमेरिका क्षेत्रीय उपसंयोजक हुनुहुन्छ भने विगतमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । कविता, गीत, गजल र मुक्तक लेख्ने सुवेदी नेपाली साहित्यमा राम अविरामको नाममा सुपरिचित हुनुहुन्छ ।

सुवेदीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ । नवनियुक्त पर्यटन दूत सुवेदीले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त गरिदिनुभएकामा पर्यटन मन्त्री प्रेमबहादुर आलेप्रति आभार प्रकट गर्नुभएको छ । 

उहाँले आफूमाथि मन्त्री आलेको अटल विश्वासलाई सदा कायम राख्ने, नेपाल र नेपालीको शिर सदा उच्च राख्ने एवं नेपालको उन्नति प्रगतिमा हिजोभन्दा आज अझ बढी गर्न सक्ने आँट र अठोटसमेत गर्नुभएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ०७ बजे