आमरण अनशनरत निहारिकासँग सरकारले सुरु गर्यो वार्ता

काठमाडौं ।सरकारले ६ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतसँग वार्ता सुरु गरेको छ । 
गृहमन्त्रालय, राष्ट्रिय महिला आयोग र महिला आयोगका प्रतिनिधिहरुले  निहारिसँग वार्ता सुरु गरेका हुन् । 

आफूलाई एक पुरुषले बलात्कार गरेर गर्भवती बनाएको र जन्मिएको बच्चाको जिम्मेवारीसमेत नलिएको भन्दै निहारिका लामो समयदेखि संघर्षरत  छिन्  । आफ्नो बारेमा  कतैबाट सुनुवाइ नभएपछि उनी गत शुक्रबारदेखि काठमाडौंमा  अनशन बसेकी छिन्  । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने तथा उच्च अदालतमा दिएको पुनरावेदनको पेशी तोकिनुपर्ने उनको मुख्य माग छ ।

अनशनको छैटौं दिनमा वार्ता सुरू भएको हो । वार्तामा रमहिला आयोग अध्यक्ष कमला पराजुली, सदस्यहरू जया घिमिरे र विद्या सिन्हा सहभागी छन् । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाको पनि वार्तामा सहभागिता छ ।

वार्तामा निहारिकाको पक्षबाट अभियन्ताहरू जस्मिन ओझा, देव शर्मा, डा. सचिन घिमिरे, सावित्री सुवेदी र स्वंयव निहारिका सहभागि छिन् । 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : ०८ बजे