डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमालेले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई आजदेखि दिन प्रशिक्षण दिने

काठमाडौँ । नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ ।

एमालेले गत वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा आफ्नो पार्टीबाट जितेका मध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो ।

एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र भोलि दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ । आज बिहान ११ः०० बजे भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा रहेको राष्ट्रियसभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ ।

एमाले स्कुल विभागले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली र केही स्थानीय तहका विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले समग्र राजनीतिक परिस्थिति, सङ्घीयताको जगका रूपमा रहेका स्थानीय तहहरूले गर्नुपर्ने काम, पार्टी बलियो बनाउन जनप्रतिनिधिले गर्नै पर्ने कामका सन्दर्भमा प्रशिक्षण दिनुहुनेछ । 

यसैगरी, महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधीहरुले पालना गर्नुपर्ने आचार संहिता, अधिकारका क्षेत्रहरू, पार्टीसँगको समन्वय आदिका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । 

त्यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी जनप्रतिनिधिको अन्तरसम्बन्ध र जनप्रतिनिधिहरूले पालना गर्नुपर्ने नीति नियमका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ रहेको छ  ।

प्रशिक्षणको दोस्रो दिन काठमाडौँ घोषणा पत्र जारी गर्ने पार्टीको तयारी रहेको र घोषणा पत्रमा एमालेका जनप्रतिनिधीहरुले आगामी पाँच वर्षमा के गर्नेछन् भन्ने कुरा उल्लेख गरिने एमाले जनाएको छ ।

यस्तै, केही विज्ञहरूले स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट निर्माण गर्दा अपनाउनु पर्ने विधिहरूको बारेमा प्रशिक्षण दिने कार्यक्रम छ । 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ८ : १६ बजे