राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ठ्याक्कै ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्रन नसकेको भन्दै पीडित परिवारले सडक अवरुद्ध गरेका छन् । 

हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनअनुसार सजायको माग गर्दै स्थानीयवासी स्वतस्र्फुत सडकमा उत्रिएको मृतक माइला दाई राजेशभक्त पौडेलले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाؘ–६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिर अगाडि सडक छेउमा मृतकको पर्स भेटिएको हो ।

२९ वैशाख मध्य राति स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताउनुभयो।

प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ गरेको थियो । 

प्रहरीले जीतपुरसिमरा उपहमानगरपालिका–६ का चित्रबहादुर खत्री, १६ वर्षीया एक किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उहाँकै ज्वाई सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया छ । पक्राउ परेका १३ जनामाथि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजित भएकाले निश्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा चक्का जाम गरेका थिए । 

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ४६ बजे