सुनको मूल्यमा नयाँ कीर्तिमान

बाँकेमा सिकलसेलका बिरामी बढ्दै

नेपालगञ्ज ।  पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ । यस्ता बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सकले जनाएका छन् । 

अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले प्रतिदिन सरदर २००  सिकलसेलका बिरामी उपचारका लागि आएको जानकारी दिँदै रोग पहिचानका लागि थारू समुदायका बस्तीमा स्वास्थ्य कार्यालयमार्फत शिविरसमेत सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले सिकलसेलसँगै थालसेमिया रोगसमेत देखिएको उल्लेख गर्दै शिविरमार्फत सिकलसेलको स्क्रिनिङ परीक्षणपछि थप बिरामीको भेरी अस्पतालमा रहेको ‘एचबी एलेक्ट्रो फोरोसिस’ मेशिनबाट सिकलसेल रोग निश्चित गरेपछि मात्रै सरकारले उपचार गर्ने जानकारी दिनुभयो । उहाँले सिकलसेल र थालसेमिया दुवै रोग रगतसँग सम्बन्धित रोग भएको बताउनुभयो । 

जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ती समुदायमा सिकलसेलका बिरामी देखिएका छन् ।  राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै १५० जनाको परीक्षण गर्दा २१ लाई सिकलसेल पुष्टि भएको छ ।

 स्वास्थ्य कार्यालयले दश दिनदेखि यस क्षेत्रमा सिकलसेल तथा थाल सेमिया रोगको परीक्षण गरी जाँच गरिरहेको छ ।  सो अवधिमा चार सय जनाको परीक्षण गरिसकेको ती मध्येमा ३१ प्रतिशतलाई सो रोग देखा परेको छ ।  कार्यालयका  अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकलसेल तथा थालसेमिया भन्ने लुकेका बिरामी धेरै हुन सक्ने जानकारी दिनुभयो ।

 कोहलपुरमा नगरपालिका आफैँले सिकलसेल जाँच गरेको छ ।  नगरपालिकाले नौ हजार मानिसको परीक्षण गर्दा सात सयमा सो रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ ।
 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : २० बजे