डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमालेले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई भोलिदेखि दुई दिन प्रशिक्षण दिने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई बिहीबार अर्थात् भोलिदेखि दुई दिनसम्म  प्रशिक्षण दिने भएको छ ।

एमालेले प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। दुई दिनसम्म चल्ने प्रशिक्षणमा सहभागी हुन विभिन्न  स्थानीय तहहरूबाट प्रमुख उपप्रमुखहरू काठमाडौँ आइपुग्ने क्रम सुरु भएको छ ।

बिहीबार बिहान १०ः०० बजेबाट काठमाडौँको राष्ट्रिय सभागृहमा हुने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली र केही स्थानीय तहका विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले समग्र राजनीतिक परिस्थिति, सङ्घीयताको जगका रूपमा रहेका स्थानीय तहहरूले गर्नुपर्ने काम, पार्टी बलियो बनाउन जनप्रतिनिधिले गर्नै पर्ने कामका सन्दर्भमा प्रशिक्षण दिनुहुनेछ । 

यसैगरी महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधीहरुले पालना गर्नुपर्ने आचार संहिता, अधिकारका क्षेत्रहरू, पार्टीसँगको समन्वय आदिका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । 

त्यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी जनप्रतिनिधिको अन्तरसम्बन्ध र जनप्रतिनिधीहरुले पालना गर्नुपर्ने नीति नियमका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ रहेको छ  

प्रशिक्षणको दोस्रो दिन काठमाडौँ घोषणा पत्र जारी गर्ने पार्टीको तयारी रहेको र घोषणा पत्रमा एमालेका जनप्रतिनिधीहरुले आगामी पाँच वर्षमा के गर्नेछन् भन्ने कुरा उल्लेख गरिने एमाले जनाएको छ ।

यस्तै, केही विज्ञहरूले स्थानीय तहहरूले नीति, कार्यक्रम र बजेट निर्माण गर्दा अपनाउनु पर्ने विधिहरूको बारेमा प्रशिक्षण दिने कार्यक्रम छ । प्रशिक्षण बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । सहभागीहरूले आवतजावत र बसोबासको प्रबन्ध आफै गर्नुपर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ४३ बजे