अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन 

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन ।  

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिवार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । “घट्नाको सत्य तथ्य छानबिन हुनुपर्छ”, कमलाले भनिन् ।  

महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ । 

उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानबिनका लागि माग गरेकी छिन् । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले जानकारी दिनुभयो । अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् । रासस

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ०० बजे