‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बजेटमाथिको ‘गुरिल्ला सेटिङ’ : अर्थमन्त्रीको ‘राष्ट्रद्रोही’ कदम 

राज्यको उच्च पदमा आशिन हुनुभन्दा अघि सबैभन्दा पहिला पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनीयता भङ्ग गर्दिन भन्न लगाई पद तथा गोपनियताको शपथ खुवाइने गरिन्छ ।

अर्थमन्त्री जनार्दन शर्माले भने बजेट निर्माण प्रक्रियामा आफूले खाएको त्यही शपथलाई धुजा धुजा पारेका छन् । उनले मर्यादा भुलेर सूचना चुहाउने मात्र काम गरेनन् अनाधिकृत व्यक्तिलाई सिंहदरबारमै बोलाएर राजश्वका दररेट माथि मनपरी बन्चरो प्रहार गरे  ।

बजेट आउनु अघि नै गुरिल्ला खटाएर बजेटमाथि मनपरी गर्ने अर्थमन्त्रीको यो कदम पदमा बसेर गरिएकाे  दुष्कर्म हो । र, हो पदमा बसेर उनले गरेको राष्ट्रदोह्रको गतिलो उदाहरण पनि । 

अर्थमन्त्री शर्माले भन्सार विभागबाट २०७५ मा नायब सुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरे र अर्का एक अज्ञात ‘चार्टर्ड एकाउन्टेन्ट’ लाई  जेठ १४ गते मध्यरातमा बोलाएर राजश्वका दररेटमा हेरफेर गर्नु पदकोचरम  दुरुपयोगसमेत हो । 

बजेट ल्याउनु अघि राख्नु पर्ने  गोपिनीयताको धज्जी उडाउदै  मध्यरातमा स्वार्थ समूहका व्यक्तिलाई बजेटको डाडुपन्यू सुम्पिनु, बजेटको मुख्य र संवेदनशील पाटो राजस्वका दरको साँचो स्वार्थी व्यापारीका एजेन्टको हातमा राखिदिनु नीतिगत भ्रष्टाचारसमेत हो।

नीति नियम बनाउने चाबी नै व्यापारिक समूहको स्वार्थमा राख्नलाई बुझाउनु अख्तियार दुरुपयोगसमेत हो । पदमा रहँदा सूचना चुहाएर गरिएको यो कदम अर्थमन्त्रीको राष्ट्रका नाममा खाएको सपथको खिलाफ हो । उनले मुलुकमाथि गरेको जघन्य अपराध हो । 

अर्थमन्त्री शर्मामाथि  अनाधिकृत व्यक्ति खटाएर विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरेको आरोप छ । उनले यिनै गुरिल्ला मार्फत ‘सेटिङ’ मिलाउनका लागि कुनै व्यापारिक घरानालाई लाभ र कुनैलाई हानि हुने गरी कर र भन्सार तय गराएको समाचारहरू बाहिरिएका छन् । अर्थमन्त्रीको यो कदमले बिजुली गाडीमा निश्चित कम्पनीलाई डुबाउने नियत राखिएको, चाउचाउ उद्योगीलाई फाइदा पुर्याएर स्वदेशी घिउ तेल उद्योगीहरूलाई डुबाउने खेल खेलेको लगायत कयौँ आरोप छन् । 

अहिले ल्याइएको बजेटको राजश्व दरमा हेरफेर गराएर फलाम, जस्ता, क्लिंकर, स्यानिटरी प्याड, जुत्ता, टायल, विद्युत् महसुल, जग्गा हदबन्दी, स्वास्थ्य बिमा, मेडिकल कलेज आदि थुप्रैमा गलत नियत र आशय राखेर  कमाउँधन्दा चलाइएको आरोप छ । 

देशको अर्थतन्त्र संकटोन्मुख अवस्थामा पुगिरहेको संवेदनशील समयमा अर्थतन्त्रलाई इमानदारीपूर्वक गति दिने तालुकदार निकायबाट भएको यो प्रकारको बेइमानी र गैर जिम्मेवारीपनको नाङ्गो नाँच आम नागरिकहरूलाई कदापि स्वीकार्य हुँदैन । अर्थमन्त्रीको यस प्रकारको कदमले ल्याइएको बजेटको विश्वसनीयता स्वभाभिकरुपमा कयौँ प्रश्न  उठेका छन् । देशको डामाडोल अर्थतन्त्रलाई त्राण दिन सबै क्षेत्रसँग सहकार्य र समन्वय गर्नुपर्नेमा निश्चित घरानियाँलाई पोस्ने र त्यसबाट लाभ लिने काममा लागेका अर्थमन्त्रीले अब तत्काल पदबाट राजीनामा दिनु पर्दछ । 

अर्थतन्त्र धराशायी भएको यो समयमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने, अत्यावश्यक आयातित वस्तुमा भेदभावरहित मान्य कर निर्धारण गर्नेतर्फ लाग्नुमा  ठिक उल्टो गर्ने र कमाऊँ धन्दाका लागि मध्य रातमा गुरिल्ला खटाएर राष्ट्रमाथि मनपरी गर्ने अर्थमन्त्रीसँग कुर्सीमा अब एक मिनेट बस्ने पनि नैतिक आधार छैन ।

अर्थमन्त्रीको पदमा बसेर यस अघि नै अमेरिकाबाट नेपाल ल्याइएको  शङ्कास्पद ४० करोड रुपैयाँ छुटाउन उनले गरेको पदीय मर्यादाको दुरुपयोगको पटाक्षेप भइसकेको छ । राष्ट्र बैङ्कमा गभर्नर माथि  बिना आधार र प्रमाण गराइएको निलम्बन पनि सर्वोच्चले उल्टिइदिइसकेको छ ।  पदिय मर्यादा र आचरण राख्न पटक पटक चुकेका र पदको गोपनियतालाई कमाउँधन्दा बनाउने अर्थमन्त्री शर्मा अनैतिक हुन्, उनले तत्काल राजीनामा दिनै पर्छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : ५० बजे