बजारमा विषादी आँपको बिगबिगी

बारा । बाराको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको छ । बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भई खान योग्य हुने भए पनि बाराको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको हो । 

बाराको कलैया, जीतपुर, सिमरा, निजगढका बजारहरूमा कार्बाइड हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । यो सिजनको सुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका बाराका व्यापारीहरूले दुई सातायता भने पूर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइड हालेर पकाएर बजारमा बिक्री गरिरहेका हुन् । 

व्यापारीहरूले प्रतिकेजी ४०/५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइड प्रयोग गरेर १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारा तरकारी तथा फलफूल व्यवसायीका अनुसार सिजनको सुरुमा बारा र यस आसपासका बजारहरूमा भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आँपको आयात हुने गरेको बताए । असार पहिलो सातापछि भने तराईका पूर्वी जिल्लामा फलेका आँप बाराको बजारमा आउने गरिएको व्यवसायीको भनाइ छ । 

कृषि ज्ञान केन्द्र बाराको अनुसार भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको केन्द्रले जनाएको छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्बाइड विषादी प्रयोग गर्ने गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने सुझावसमेत केन्द्रको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिँगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखा पर्ने, स्मरण शक्ति कमजोर हुने, श्वास प्रश्वासमा समस्या हुने र झाडापखाला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए । 

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यापारीहरूले कार्बाइड विषादी राखेर पकाएका आँप खुलेआम रूपमा बिक्री गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।
 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : १४ बजे