आज वर्षाको सम्भावना

स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने एमालेको अडान

काठमाडौं – नेकपा एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दर परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने जनाएको छ । प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा आज अर्थमन्त्री जनार्दन शर्मा सहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रतिनिधि सभा बैठक सुरू भए लगत्तै नेकपा एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षा जत्तिकै गोपनिय विषय भएको बताउनुभयो । उहाँले अर्थमन्त्री पदमा बस्न नमिल्ने जिकिर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराउनुभयो ।

लगत्तै एमाले सांसदहरूले आफ्नो स्थानबाट उभिएर विरोध जनाउनुभएको थियो । एमाले सांसदहरू उभिएपछि सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिनुभयो ।

भट्टराईले प्रतिनिधि सभाको कार्यसूचीबाट अर्थमन्त्रीले जवाफ दिने विषय हटाउन सभामुखलाई आग्रह गर्नुभयो । ‘मन्त्रीको काम कारवाहीमा यत्रो प्रश्न उठेपछि हामी उहाँको जवाफ सुन्न र छलफलका लागि विल्कुल तयार छैनौं’, भट्टराईले भन्नुभयो, ‘कार्यसूचीबाट अर्थ मन्त्रालयको जवाफ दिने विषय हटेपछि मात्र हामी छलफल गर्न तयार छौं ।’

एमाले सांसदहरुले दोस्रो पटक उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘मेरो तपाईँहरूले उठाएको विषयमा ध्यानाकर्षण भएको छ’, सापकोटाले भन्नुभयो, ‘बैठक सञ्चालनमा सहयोग गर्नुहोस् ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : २१ बजे