बुर्किना फासोमा संदिग्ध जिहादीद्वारा कम्तीमा पचास जनाको हत्या

उगादुगुउ । उत्तरी बुर्किना फासोमा संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको सरकारी प्रवक्ता लियोनेल बिल्गोले सोमबार जानकारी दिनुभएको छ । जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्ये एक हो ।

शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको बिल्गोले बताउनु भएको छ ।  मृतकको सङ्ख्या अझै बढ्न सक्ने पनि उहाँले थप जानकारी दिनु भएको छ । 

पीडितहरूका आफन्तहरू सेतेंगा फर्केका  र शवहरू लगेका हुन सक्ने बिल्गोले पत्रकार सम्मेलन भन्नु भएको छ ।  ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ । यसले घटनाको निन्दा गर्दै ‘यस हत्याको परिस्थितिमा प्रकाश पार्न’ आह्वान गरेको छ ।

यस क्षेत्रका मानवीय संस्थाहरूले गाँउबाट भागेर करिब तीन हजार मानिसलाई छिमेकी सहरमा राखिएको बताएका छन्।भूपरिवेष्ठित सहेल राज्य सात वर्ष पुरानो जिहादी विद्रोहको चपेटामा छ जसले दुई हजार भन्दा बढीको ज्यान लिइसकेको छ र करिब १९ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।
 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : ०३ बजे