आज वर्षाको सम्भावना

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, सभामुखको ध्यानाकर्षणपछि संसद जारी 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । 

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो । 

मंगलबार बैठकको सुरुमै एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताउनुभयो । 

‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधाानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन,’ पाण्डेले भन्नुभयो । 

यसबारे सोमबारको बैठकमा समेत एमालेले प्रश्न उठाए पनि जवाफ नआएको भन्दै पाण्डेले अब जवाफ नआएसम्म सदन कामकारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गर्नुभयो। 

सभामुख अग्निप्रसाद सापकोटाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । सोही क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि अर्थमन्त्री शर्माको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्दै मन्त्रालयगत विषयमा भएको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट हटाउन माग गर्नुभयो । 

अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट नहटाएसम्म बैठक चल्न नसक्ने भट्टराईले बताइरहँदा एमालेका सांसद उठेर सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । 

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र सुनुवाइ हुने आश्वासन दिएपछि अहिले प्रतिनिधिसभाको बैठक चलिरहेको छ । 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ११ : ५८ बजे