आज वर्षाको सम्भावना

अर्थमन्त्रीको विषयमा छानविन गरी कारबाही गरौं : महेश बस्नेत

काठमाडौं – प्रतिनिधिसभाको आजको वैठकमा अर्थमन्त्री जनार्दन शर्माको भूमिकामाथि सांसदहरुले प्रश्न उठाएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत रुपमा एक पूर्व कर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा प्रश्न उठेको हो ।

एमाले सांसद महेश बस्नेतले अर्थमन्त्रीको विषयमा प्रश्न उठेको भन्दै छानविनको माग समेत गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘आज मात्रै हामीले समाचार सुन्यौं । अर्थमन्त्रीज्यूले भन्सारका दर रेट र करका दर रेट परिवर्तन गर्न अघिल्लो दिन राति एकजना पूर्व सुब्बालाई ल्याएर गडबडी गर्नुभयो । वायर कारखानादेखि लिएर सेनेटरी प्याड सबै कुरामा तमाम दररेटहरु खारेज गरेर अर्थमन्त्रीज्यूले नियमित कमिसन खाने योजना बनाउनु भयो भन्ने कुरा सुन्यौं ।’

सांसद बस्नेतले नीतिगत सुधारदेखि मन्त्रीहरुको व्यवहार परिवर्तन हुन जरुरी रहेको बताउनु भयो । सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिएर एक मुष्ट करोडौं रकम आम्दानी लिने कुरा बाहिर आएको भन्दै उहाँले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानाहरुलाई १५ प्रतिशत छुट दिने कुराले एकमुष्ट करोडौ रकम आम्दानी लिएको कुरा, महिनाको ३७ लाख रुपैंया नियमित लिएको कुरा पनि आएको छ । रोम जलिरहेछ निरोहरु बाँसुरी बजाइरहे छन् भन्ने कुरा देखिरहेका छौं । यो विषय छानविन हुनुपर्छ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ५७ बजे