म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो ।
सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रूपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ ।
डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिनुभयो ।
“एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानव बस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ”, उहाँले भन्नुभयो, “यसपालि एक लाख ८७ हजार घन मिटर कटिङ र तीन हजार ५१० घन मिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ ।”
विसं २०७८ चैत १७ गते रु चार करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रूपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खा याममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताउनुभयो ।
दुई वटा एक्स्काभेटर (डोजर)ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताउनुभयो । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुर्याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ ।
एघार मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो । यो सडकलाई आर्थिक वर्ष २०७६÷०७७ मा रु ११ करोड, २०७५/०७६ मा रु चार करोड बजेट विनियोजन भएको थियो ।
मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताउनुभयो ।
हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौँरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । रासस
प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ८ : ५६ बजे
प्रतिक्रिया