मन्थली विमानस्थलमा पानी पस्यो

पाल्पाका किसानलाई उन्नत जातको धानको बीउ वितरण

रामपुर (पाल्पा) । उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । 

चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो । 

नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । सो बीउले यहाँका करिब आठ हजार ५०० रोपनी क्षेत्रफलमा पुग्ने उहाँले बताउनुभयो  ।

सरकारले तोकेको मूल्यका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिकिलो रु ७८ पर्ने सावित्री र साँवा मन्सुली धानलाई रु ३९, बहुगुडी २ जातको ४१ र सुनौलो सुगन्ध जातको रु ५२ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको कृषि प्राविधिक प्रज्वल केसीले बताउनुभयो । 

  रामपुर–६ को सातबिसे सेरामा करिब २०० रोपनी क्षेत्रफलमा धान बालीमा कृषि ज्ञान केन्द्र पाल्पामार्फत बीज वृद्धि कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्ष वितरण गरिएको उन्नत जातको बीउ यस वर्ष किसानले प्रयोग गरेको पाइएको छ । 

अनुदानमा उन्नत जातको धानको बीउ पाउँदा किसान खुसी छन् । एग्रोभेटमा प्रतिकिलो रु १०० भन्दा बढी मूल्यमा बिक्री भइरहेको धान नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएपछि किसानलाई आर्थिक भार कम परेको तुलसी रेग्मीले बताउनुभयो । 

गत वर्ष करिब २० टन धानको बीउ वितरण गरिएको थियो । धान उत्पादनको पकेट क्षेत्र मानिएको रामपुरमा करिब एक हजार ८०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

उन्नत जातको बीउ पाउन थालेपछि पानी कम हुने सुक्खा क्षेत्रमा पनि किसानले खेती गर्न थालेका छन् । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : २० बजे