आँबुखैरेनी–मुग्लिन खण्ड:  राति पनि सवारी साधन सञ्चालन 

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । 

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो । 

रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रवार र शनिवार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । 

आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर  साना ठुला र हेभी सवारी साधन समेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ तर मुग्लिन पोखरा सडक खण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडक खण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ । 

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ३३ बजे