प्रदेश १ को नाम टुंगो लगाउन एमाले–कांग्रेस सहमत

विराटनगर – प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीय दलसँग छलफल गरेको छ ।

छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् ।

आजको संसद बैठक सम्पन्न भएपछि प्रदेश १ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारी दिनुभयो ।

‘कांग्रेस र एमालेबीच यही अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउन सहमत भएका छौं,’ कार्कीले भन्नुभयो, ‘हामीबीचमा सबै संसदभित्रका राजनीतिक दलसँग र सरकारसँग पछि छलफल गर्न पनि सहमत भएका छौं ।’

यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।

 प्रदेशसभाका सांसदहरुले प्रदेशको यही अधिवेशनबाट नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागिसकेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २२ बजे