कांग्रेस निकट कर्मचारीलाई धेरै माग नराख्न देउवाको आग्रह 

मुलुक आर्थिक समस्याबाट गुज्रिरदासमेत कर्मचारीको तलब बढाएको भनाई 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एकलौटी रूपमा कांग्रेसको नभएको भन्दै पार्टीसँग आबद्ध संघसंगठनहरूलाई धेरै माग नराख्न  आग्रह गर्नुभएको छ ।  गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार मात्रै नहुने भन्दै देउवाले धेरै माग नराख्न आग्रह गनुृभएको हो । 

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरूले, यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरूले यो धेरै माग दाबी गर्ने कुरा छैन ।’ देउवाले अघिल्लो केपी ओली नेतृत्वको सरकारले सुरु गरेको  योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई  अहिलेको सरकारले पनि निरन्तरता दिएको र त्यस्लाई  पूर्णरूपमा कार्यान्वयन गर्ने बताउनुभयो ।  

उहाँले मुलुक आर्थिक समस्याबाट गुज्रिरहेको अवस्थामा पनि कर्मचारीको तलब बढाइएको बताउनुभयो । ‘आर्थिक समस्याबाट गुज्रिरहेको अवस्थामा पनि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि भएको छ। यसले कर्मचारीहरुमा थप लगनशिल बन्नुहुन्छ भन्ने विश्वास छ,’ प्रधानमन्त्री देउवाको भनाई थियो । 

उहाँले सरकार ट्रेड युनियनसँग समन्वय गरेर अगाडि बढ्ने र  उसले उठाएको विषयवस्तु क्रमशः सम्बोधन गर्दै लैजाने बताउनुभयो । 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ०४ बजे