प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग (भिडियो )

काठमाडौँ ।   नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेको छ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा समय मागेर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गर्नुभएको हो ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको उहाँले बताउनुभयो ।

“प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदै छ कि रक्षा मन्त्रीको ?”,  ज्ञवालीले प्रश्न गर्दै भन्नुभयो, “यसबारे सदनले थाहा पाउन जरुरी छ।” प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय समेत हेर्दै आउनुभएको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन।

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो सांसदलाई जानकारी गराउनुपर्ने बताउनुहुँदै उहाँले यस्ता महत्त्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफल समेत गर्न छोडेको बताउनुभयो । 

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग (भिडियो ):

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ११ : ५६ बजे