हनुमान ढोकाको दसैँघरमा फूलपाती

मानव अधिकार प्रवर्धन सबैको जिम्मेवारी

सप्तरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शनिवार राजविराज नगरपालिकामा मानव अधिकार प्रवर्धन अभियानअन्तर्गत अन्तरक्रिया तथा र्‍यालीको आयोजना गरिएको छ ।

इन्सेक सदस्य वैद्यनाथ झाले बढीभन्दा बढी नागरिकले मानव अधिकार बारे जानकारी प्राप्त गरेमा मात्र मानव अधिकार संरक्षण, सम्बद्ध र परिपूर्तिका लागि राज्यलाई जबाफदेही बनाउन सकिने बताउनुभयो । व्याप्त विकृति अन्त्यको लामो लडाइँमा नागरिकले सामूहिक रूपमा निरन्तर आवाज उठाइरहे सफलता प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलले मानव अधिकारको संरक्षण, सम्बद्ध र  प्रवर्धन गर्ने जिम्मेवारी सबैको भएको बताउनुभयो । संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनका लागि स्थानीय समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । कर्तव्य निर्वाह गर्दै अधिकारको प्रयोग गर्ने र अरूको अधिकार हनन नगर्ने बानीले मानव अधिकारको संरक्षण हुँदै प्रवर्धन हुन सक्ने पोखरेलले बताउनुभयो ।

राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्णले राज्यले मानव अधिकारको सुनिश्चितताको लागि तय गरेको नीति एवम् योजना कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यमान समस्याहरूको समाधानका लागि निरीक्षण, अनुगमन गरी सेवा प्रदायक निकायहरूलाई उत्तरदायी बनाउने समेत उहाँले बताउनुभयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले मानव जीवनको आधारभूत अधिकारका लागि स्थानीय समुदाय, नागरिकहरू एकताबद्ध भई सरोकारवाला समक्ष अधिकारको मागदावी गर्नु पर्ने बताउनुभयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले मानव अधिकारको क्षेत्रमा विभिन्न समूह, संस्थासँग समन्वय एवम् सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनिता देवकोटाले सरकारी अस्पतालबाट तलब खाने चिकित्सकहरूले निजी अस्पतालको हितमा काम गरिरहेको गुनासो गर्नुभयो । प्याब्सनका सचिव सञ्जय शर्माले सरकारी अस्पतालका चिकित्सक डा.आनन्द सिंहले आफूलाई निजी अस्पताल पठाएर शल्यक्रिया गरेको र असफल भएपछि धरान गएर पुनः शल्यक्रिया गर्नुपरेको घटना सुनाउनुभयो । उहाँले निःशुल्क प्राप्त हुने औषधी अस्पतालमा नपाइने तर आसपासका पसलमा अस्पतालबाट वितरण हुने औषधी बिक्री वितरण भइरहेको आरोप लगाउनुभयो ।

इन्सेकका सहजकर्ता दीपक यादवले कृषिको लागि पर्याप्त मल, विउविजन उपलब्ध हुनुपर्ने लगायतका मानव अधिकारका लागि मानव अधिकार निगरानी समूहले निरन्तर अनुगमन गर्दै आवाज उठाइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

अभिभावक राजकुमार लाल दासले सामुदायिक विद्यालयको स्तरोन्नति र नागरिकले पाउनै पर्ने आधारभूत अधिकारका लागि विशेष चासो राख्नु पर्नेमा जोड दिनुभयो ।

बाल अधिकार चेतना समूहकी खुश्बु रजकले पठनपाठन सुरु भए पनि पाठ्य पुस्तक उपलब्ध नभएको, विषयगत शिक्षकहरूको अभाव रहेको, परीक्षा अगावै पाठ्यक्रम नसकिने र ट्युसन पढ्नै पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । कार्यक्रमका सञ्चालक निगरानी समूहका सचिव दिनानाथ यादवले संविधानमा स्पष्ट उल्लेख भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १० : ४५ बजे