एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने  

लण्डन । गैर आवासीय नेपाली सङ्घको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीव्र पारिएको छ । 

एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरूको लागि प्रतिनिधि दर्ता आजदेखि सुरु गरिएको छ । 

अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रम आयोजना गरिनेछ भने बाँकी अनौपचारिक तथा पर्यटकीय हुनेछन् । 

तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनरसमेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोखरेलले जानकारी दिनुभयो । सो रकममा प्रतिनिधिहरूले क्रुज सयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्नेछन् । 

सम्मेलनमा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष त्रय  कुल आचार्य, रविना थापा, डा.बद्री केसी लगायत सङ्घका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ । सम्मेलनमा पूर्व अध्यक्षहरू समेत विशेष अतिथिको रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ । 

२५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो सम्मेलनमा  नेपाल सरकारका प्रतिनिधिहरू, सङ्घका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरू, सल्लाहकारहरू पदाधिकारी तथा सदस्यहरू, मानार्थ सदस्यहरू, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, विभिन्न देशका विज्ञहरू, अभियानकर्ताहरू, गैर आवासीय नेपाली, सञ्चारकर्मी लगायतको उपस्थिति रहने अपेक्षा गरिएको छ । 

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरतालगायत संस्थागत एकताको बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ११ : ५९ बजे