कस्तो छ आजको मौसम ?

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । 

यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बाग्मती  र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । 

प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ५३ बजे